वीरगन्ज, २ मङ्सिर । श्रद्धा, भक्ति र समग्र तराईको साझा पर्व छठ आज बिहान उदाउंदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ ।
उदाउंदो सूर्यलाई अर्घ दिन आज बिहान वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी, सिर्सिया नदी, नगवा, छपकैया र पिप्रालगायतका पोखरी एवम् जलाशयमा व्रतालुहरुको ठूलो घुइँचो लागेको थियो ।
यसअघि मङ्गलबार साझ अस्ताउंदो सूर्यलाई अर्घ दिन परिवारका सम्पूर्ण सदस्यले विभिन्न भक्ति एवम् लोकगीत गाउ“दै छठ मातालाई चढाउने फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखेर सिँगारिएका ती पोखरी, नदी तथा तलाउ लगायतका जलाशयसम्म पुगेका थिए ।
व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूरलगाएर अक्षता, फूल हालेर पालोपालो गरी मङ्गलवार अस्ताउ“दो र बुधवार उदाउ“दो सूर्यलाई अर्घ दिएका थिए ।
सूर्यदेवको आराधना, उपासना र पूजाको महापर्व छठ चार दिनसम्म मनाइन्छ । कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ ।
पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।
अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउछन् ।
भद्रपुर ः पूर्वी तथा मध्य तराईका जिल्लामा तीन दिनसम्म भव्य रुपमा मनाइने छठ पर्व यहाँको मेची नदी किनारमा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल र भारत दुवै देशका भक्तजनले मेची नदीको दुबै किनारमा मण्डप बनाई अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
पूर्वाञ्चलकै सबैभन्दा ठूलो पूजा मण्डपका रुपमा परिचित मेची किनारमा ८० हजार बढी भक्तजनले सूर्यलाई अर्घ दिएको आयोजक समितिले जनाएको छ ।
चितवन ः उदाउँदो सूर्यलाई अर्घ दिएर यसवर्षको छठीमाईलाई विदा गरिएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिनेहरुको ठूलो भीड थियो । चितवनको पदमपुर, टाँडी, माडी, खुरखुरे लगायतका क्षेत्रमा समेत नदी तथा तलाउका किनारमा छठीमाईको पूजा गरिएको थियो ।
छठ पूजाको संयोजन गरेको तराई सामुदायिक सेवा समितिका अध्यक्ष सुकेशकुमार गुप्ताका अनुसार नारायणी नदी किनारमा मात्रै झण्डै एक हजार जनाले अहिले बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठीमाईको पूजा गरेका छन् । नदी किनारमा टाँगिएका ३० वटा पालमा मानिस नअटेपछि खुल्ला आकाशमुनि बसेर भक्तजनहरुले छठीमाईको प्रार्थना गरेका थिए ।