काठमाडौँ, ११ मङ्सिर । नेपाल सरकारको सहकार्यमा रोजगार कोष हेल्भेटास इन्टरकोअपरेसन नेपालले भूकम्प प्रभावित छ जिल्लाका ४७ गाविसका तीन हजार युवाका लागि पुनःनिर्माणका लागि सीप दिने भएको छ ।
आज राजधानीमा पहिलो चरणको कार्यक्रमको आरम्भ भएको जानकारी दिँदै हेल्भेटासका राष्ट्रिय निर्देशक डा भरत पोखरेलले हेल्भेटासले भूकम्पले भौतिक र मानवीय क्षति बढी भएका जिल्लाका तीन हजार युवालाई प्रारम्भिक चरणमा पुनःनिर्माणसम्बन्धी सीप सिकाउने बताउनुभयो ।
निर्देशक डा पोखरेलले भन्नुभयो – “पहिलो चरणको एक वर्षे कार्यक्रमअन्तर्गत रोजगार कोषले गोरखाका ६, धादिङका ५, सिन्धुपाल्चोकका ८, दोलखाका ६, रामेछापका १२ र ओखलढुङ्गाका १० गाविसका तीन हजार युवालाई पुनःनिर्माणसम्बन्धी तालिम दिनेछ ।”
रोजगार कोष, हेल्भेटासले निर्माण क्षेत्रसँग सम्बन्धित छोटो अवधिका भूकम्प प्रतिरोधी प्रविधिसहितको घर बनाउन युवालाई तालिम प्रदान गर्नेछ ।
खासगरी १६ देखि ४० वर्षसम्मका महिला–पुरुष जो भूकम्पबाट अत्यधिक क्षती भएका घरधुरीका सदस्यलाई लक्षित गरी कार्यक्रम सुरु गर्न लागेको रोजगार कोष, हेल्भेटासका कार्यक्रम अधिकृत सुवास सुवेदीले बताउनुभयो ।