विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा विद्यार्थीसहितको मानवसाङ्लोले घेरी शुक्रबार गरिएको प्रदर्शन । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ११ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए पनि विगत केही समययता बालबालिकाको प्रयोग बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति जारी गरी शिक्षण संस्थाको छाता सङ्गठनले आजै गरेको मानव साङ्लोमा विद्यालयमा अध्ययनरत बालबालिकाको प्रयोग गरिएको आयोगको अनुगमनबाट पाइएको उल्लेख छ ।
बन्द हड्तालका कार्यक्रममा बालबालिकाको निरन्तर प्रयोग गर्दा हुने जोखिमलाई ध्यानमा राखी बालअधिकार सुनिश्चित गर्न आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
निर्वाधरुपमा विद्यालय जान पाउने र भयमुक्त वातावरणमा पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार भएकाले कुनै पनि संस्था वा राजनीतिक दलले आयोजना गर्ने कुनैपनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आयोग आग्रह गरेको छ ।
‘बाँच्न र पढ्न देउ’ भन्ने नाराका साथ विद्यार्थीले २७ किलोमिटर लामो चक्रपथमा प्रदर्शन गरेका थिए । बन्द हड्तालजस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्नु बालअधिकारसम्बन्धी महासन्धि तथा बालबालिकासम्बन्धी ऐन, २०४८ विपरीत काम भएको विज्ञप्तिमा उल्लेख छ ।