काठमाडौँ, १५ मङ्सिर । मधेसकेन्द्रित दलको आन्दोलन र मागका सम्बन्धमा बुधबार हुने वार्ताबारे धारणा बनाउन प्रमुख तीन राजनीतिक दलले आज आन्तरिक गृहकार्य गरेका छन् ।
नयाँ संविधानमा सीमाङ्कन र निर्वाचन क्षेत्र निर्धारणको आधार आदि विषयमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग यसअघि विभिन्न चरणमा भएका वार्ताबारे ती दलले आन्तरिक छलफल गरेका हुन् ।
नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी) का आफ्ना पदाधिकारीका बैठकमा धारणा बनाई पुनः तीन दलको बीचमा सकेसम्म साझा धारणा बनाउने दलहरुको तयारी छ ।
सोही क्रममा आज प्रधानमन्त्री निवास वालुवाटारमा एमालेका पदाधिकारीबीच छलफल भएको थियो । छलफलमा मुलुकको सार्वभौमिकतालाई ध्यानमा राखी समस्या समाधानका लागि गम्भीरताका साथ प्रस्तुत हुने कुराकानी भएको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।