बाउकाे निधनमा काजकिरिया बसेका साहसी छाेरीहरूकाे चाैतर्फी प्रशंसा

xori haru

लेक्चरर दीपक पाैडेलका अाशाैच बार्दै छाेरीहरू । तस्वीर रासस

काठमाडाैं । काजक्रिया गर्ने परम्परामा केही नवीनता र सुधारका लागि बहसहरू भइरहेका समयमा झापाको शान्तिनगरमा एउटा नयाँ शैलीको काजक्रियाको थालनीभएको छ ।

इलाम जिल्लाको इरौटारमा २०१७ असार ५ गते जन्मिएर यही मङ्सिर ६ गते क्यान्सर रोगका कारण ५५ वर्षको उमेरमा देहावसान भएका दीपक पौडेलका परिवारजनले छोरीहरुबाट यस्तो नयाँ शैलीको काजक्रियाको थालनी गरेको हो । मृतक पौडेलका एक श्रीमती र दुई छोरीहरू छन् ।

मृतक पौडेलका आफन्त साहित्यकार देवी नेपालका अनुसार गत असारमा गिंजामा क्यान्सर देखिएपछि भक्तपुरस्थित क्यान्सर अस्पतालमा शल्यक्रिया गरे पनि उपचार सफल हुननसकी मङ्सिर ६ गते बिहान ३ः२५ बजे निधन भएपछि आर्यघाटमा दाहसंस्कार कार्यक्रममा नै छोरीहरूले दागबत्ती दिई नयाँपनको सङ्केत गरेका थिए ।

यसपछिको काजक्रियाका लागि आफ्नो निजी निवास झापाको शान्तिनगर पुगेको पौडेल परिवारले मृतकको इच्छाअनुसार सम्पूर्ण दशकर्म छोरीहरूबाट नै गराउने सोच बनाएको थियो । तर, स्थानीय पण्डितहरूबीचमा केही विवाद बढ्न थालेपछि मृतकका दाजु रङ्गलाल र भाइ दुर्गाका साथमा श्रीमती र दुई छोरीहरू संयुक्तरूपमा क्रियामा बसी कोरोढिकुरोको काम पनि एकैसाथ गर्दै आएका छन् ।

काजक्रियाको यो रूपलाई प्रत्यक्षरूपमा देख्नेहरू एकपटक आश्चर्यमा पर्छन् । क्रियापुत्रीहरूको पहिरन र बसाइ पनि परम्पराभन्दा भिन्न छ । मृतककी श्रीमतीले सादा सेतो कपडा नलगाएर अरुबेला लगाउने सामान्य साडीका साथै एउटा सादा बर्को ओढेकी छन् । उनीहरूको सुत्ने ठाउँ मात्र फरक छ । दाजु र भाइको सुत्ने ठाउँ अलि पर छ तर अरु सबै जेठानी, देउरानी र छोरीहरू एकै ठाउँमा सुत्छन् ।

यसरी नै स्त्रीजातिले पस्नै नहुने र छुनसम्म पनि वञ्चित गराइएको ढिकुरोलाई मृतककी श्रीमती निर्मलाले गोबरले लिप्न थाले पछि छोरीहरूले पिण्ड पकाउँछन्, अनि श्रीमतीले पिण्ड बटारेर दिएपछि हरेक दिन पालैपालो कहिले दाजुले, कहिले भाइले र कहिले छोरीहरूले पिण्ड दिन्छन् । उक्त पाँचजनाको काममा कुनै प्रकारको भेदभाव र शास्त्रीय बन्धन देखिँदैन । खाना पकाउने र खाने कुरामा पनि नितान्त फरकपन पाइन्छ ।

दशकर्म गर्ने तथा ढिकुरामा पिण्ड दिने पुरुष अथवा छोरा वा दाजुभाइलाई अरुले छुनु नहुने र तिनैले खाना पकाएर खानुपर्ने परम्परालाई केही नवीनता दिइएको छ । त्यहाँ मृतककी श्रीमती वा छोरीहरू कसैले खाना पकाउँछन्, मृतककी भाउजू पार्वता र बुहारी कृष्णाले घरबाट साग पकाएर खलोमा लगिदिन्छन्, अनि पाँचजना सँगैबसेर एकैसाथ खाना खाने गर्दछन् ।

सुरुमा विवादभएर केही डराएका स्थानीय पुरोहित देवनारायण दाहाल अहिले भने आफूले नयाँकार्यको थालनी गराउन पाएकोमा खुसी छन् । उनी भन्छन्, “मेरो ३५ वर्षे कर्मकाण्डीय जीवनमा यो पहिलो अनुभव हो । मलाई अहिले पनि परम्परा बिथोल्ने भनी आलोचना गर्नेहरूको सङ्ख्या ठूलो छ । मैले छोरा र छोरीमा विभेद हुनुहुँदैन, दशकर्मको सम्पूर्ण अधिकार छोरीमा पनि हुनुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठाउँदै आएको छु तर म एक्लो परिरहेको छु । हरेक दिन मैले अनेक प्रकारका गालीहरू खाइरहनु पर्छ तर राम्रो कामको थालनी कसै न कसैले त गर्नैपर्छ । त्यो मैले नै गर्न पाएँ, यस कुरामा मलाई गर्वबोध भएको छ ।”

यसरी नै पुरोहित दाहाल धर्मशास्त्रलाई समयानुकूल व्यावहारिक परिवर्तन गर्दै लैजानुपर्ने कुरामा जोड दिन्छन् भने स्थानीयवासीहरु यस प्रकारको क्रिया गराईमा परिवारमा कुनै प्रकारको भेदभाव नहुने, सामूहिक भावना, सामूहिक जिम्मेवारी र समभावपनि देखिने र वास्तविक समवेदनाको कार्यगत स्वरुप पनि स्पष्ट देखिने हुनाले सबैले यस कार्यको प्रशंसा गर्दै अनुुुसरण पनि गर्नुपर्ने विचार राख्दछन् ।

मृतक दीपक पौडेल महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामका भूगोल विषयका सहप्राध्यापक, मानवअधिकारकर्मी तथा प्रगतिशील सामाजिक एवम् सांस्कृतिक अभियन्ता पनि हुन् । श्रीमती निर्मला मानवअधिकार सञ्जाल इलामकी लेखा प्रमुख हुन् भने छोरीहरू दीनिशा र दीपिशा काठमाडौँको नयाँ वानेश्वरस्थित एम्बिसन कलेजमा बिएससी सिएसआइटीको चौथो र दोस्रो वर्षमा अध्ययनरत छन् ।

साहित्यकार नेपाल भन्नुहुन्छ – शैक्षिक एवम् सामाजिक क्षेत्रमा अत्यन्त लोकप्रिय उक्त परिवारप्रति समवेदना प्रकट गर्न पुगेका हजारौँ शुभचिन्तकहरू पौडेल परिवारको उक्त नवीन, क्रान्तिकारी एवम् व्यावहारिक काजक्रिया गराइको मुक्तकण्ठले प्रशंसा गर्दै फर्केका देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री