काठमाडौँ, २१ मङ्सिर । तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई सभामुख ओनसरी घर्तीले बोल्न समय दिएलगत्तै मधेसी मोर्चा आबद्ध सांसदले रोष्टम नजिक गएर लगातार नाराबाजी गरेका थिए । संसद्को बैठक सञ्चालन गर्न दिन सांसदहरुलाई सभामुख घर्तीबाट पटक–पटक आग्रह हुँदा पनि नाराबाजी नरोकिएपछि आगामी तीन दिनसम्मका लागि बैठक स्थगन भएको घोषणा भयो ।
व्यवस्थापिका–संसदको बैठक खुलाउने विषयमा आज बिहान प्रमुख दलका शीर्ष नेता सभामुख घर्तीको कार्यकक्षमा छलफलमा जुटेका थिए । संसद्को अर्को बैठक यही मङ्सिर २४ गते अपराह्न ३ बजे बस्नेछ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको वार्षिक प्रतिवेदन, २०७२ सदनसमक्ष पेस गर्ने र नेपालको संविधान (पहिलो संशोधन), २०७२ प्रस्तुत गर्ने कार्यसूची थियो ।