काठमाडौँ, २१ मङ्सिर । परम्परागत ढङ्गले पार्टी सञ्चालन गर्ने पद्धतिलाई तत्काल सुधार गर्न एकीकृत नेकपा(माओवादी)का केन्द्रीय सदस्यले पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि धारणा राख्दै उहाँहरुले बदलिँदो परिवेशलाई आत्मसात् गर्दै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले विगतकै पद्धति र प्रणालीका आधारमा पार्टी चलाउने र फरक मतलाई सम्मान गर्न नसकिए गलत संस्कार हुर्कने भएकाले त्यसलाई बेलैमा सच्याउन आग्रह गर्नुभएको थियो ।
राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता सङ्कटमा परेका बेला पार्टीले स्पष्ट नीति तथा योजना अगाडि सार्नुपर्ने, संविधानसभाले पारित गरेको संविधानको सहज कार्यान्वयन गर्दै आन्तरिक राष्ट्रियताको सुदृढीकरण गर्नुपर्ने उहाँहरुको मत रहेको थियो ।
माओवादी मान्ने सबै घटक र पार्टीबीच एकता प्रक्रिया सुरु गर्न, विगतमा विभिन्न कारणले छुट्टाछुट्टै रुपमा रहेकालाई समेट्न स्पष्ट खाका र कार्ययोजना ल्याउनुपर्ने समेत उहाँहरुको जोड थियो ।
संविधानसभाबाट संविधान जारी भइसकेको र एमाओवादीले उठाउँदै आएको संविधानको राजनीतिक प्रक्रिया एक हिसाबले पूर्ण भएको अवस्थामा आगामी दिनमा अभियानात्मक रुपमा पार्टी निर्माणमा लाग्न आज बोल्ने अधिकांश नेताहरुले जोड दिनुभएको केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।
आजको बैठकमा विश्वभक्त दुलाल, नारायण दाहाल, देवी खड्का, नारायण शर्मा, नन्दकुमार प्रसाईं, शालिकराम जमरकट्टेल, पुष्पा घर्ती, लक्की शेर्पा, पवन शर्मा र ज्वाला साहले अध्यक्ष दाहालको प्रतिवेदनमाथि आआफ्नो धारणा राख्नुभएको पाण्डेले बताउनुभयो ।