काठमाडौँ, २२ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सधैँ कसैलाई जाने र कसैलाई आउने हतारो भइरहन्छ । तर त्यो आउने र जाने क्रममा यात्रु निकै सास्ती पाउने गरेको सुनिन्छ ।
अन्तर्राष्ट्रियरुपमा नेपालसँग जोडिने एक मात्र विमानस्थल भएकाले स्वदेशी तथा विदेशी नेपाल आउने क्रममा यही बाटो भएर आउनुपर्ने हुन्छ । ती यात्रुहरुले विमानस्थलमा पाउनुपर्ने सेवा, सुविधा र सुरक्षाको अनुभूति हुन सकेको छैन ।
यात्रुहरुले विमानस्थलबाट सामान ल्याउन क्रममा कहिले समान हराएको र कहिले फुटेको गुनासो पनि बेलाबेलामा आउने गरेको छ ।
यात्रुले राम्रो सेवा सुविधा पाए नपाएका बारेमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आकस्मिकरुपमा विमानस्थलको निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा मन्त्री पोखरेलले एक विदेशी यात्रुलाई सोध्नुभयो, “नेपालको विमानस्थलमा तपाइँले राम्रो सेवा पाउनु भयो कि भएन ?” अनि “कर्मचारीको व्यवहार, सत्कार कस्तो पाउनुभयो ?”
“राम्रो व्यवहारको अनुभूति गरिरहेको छु” ती विदेशी यात्रुले मन्त्री पोखरेललाई हाँस्दै उत्तर दिए । निरीक्षणका क्रममा मन्त्री पोखरेलले स्वदेशी तथा विदेशी धेरै यात्रुलाई यस्तै प्रश्न सोध्नुभएको थियो ।
यात्रुले राम्रै सेवा पाएको मन्त्रीका सामु यात्रुले बताए पनि विमानस्थलमा कम शौचालयमा कारण यात्रुले लामो समयसम्म पालो कुर्नुपर्ने, विश्रामस्थल सानो भएका कारण खचाखच बस्नुपर्ने र सामान लिन घण्टौँ कुर्नुपर्नेजस्ता समस्या कायम छन् ।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले विमानस्थलका कर्मचारीलाई अहिलेको प्रतिस्पर्धाको जमानाअनुसार सूचना प्रविधिको कस्तो व्यवस्था छ ? भनेर सोध्नुभएको थियो । विमानस्थलमा यात्रुलाई निःशुल्क वाइफाइ सुविधाको व्यवस्था भएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी गराउनुभयो ।
“विदेशीहरुले पहिलोपटक नेपाल हेर्न र नेपालीको दृष्टिकोण बनाउने पहिलो स्थान विमानस्थल हो, त्यसैले हँसिलो तरिकाले अतिथि सत्कार गर्नुस्”–मन्त्री पोखरेलले निरीक्षण गर्ने क्रममा भन्नुभयो ।
विमानस्थलभित्र रहेका व्यवसायीसँग पनि मन्त्री पोखरेलको प्रश्न थियो, “बाहिरभन्दा यहाँ सामानको मूल्य धेरै महँगो पर्छ भन्छन् नि !” उत्तरमा व्यापारीहरुले आफूहरुले त्यस्तो महँगो नगरेको उत्तर दिनुभयो ।
विमानस्थलमा आउनुअघि नै कुन देशबाट यात्रुहरु आउँदैछन् भन्ने प्रविधिको विकास गर्नसके अपराधमा संलग्न व्यक्तिलाई पक्रन सहज हुने सुझावसमेत कर्मचारीले मन्त्रीलाई दिएका थिए ।
पर्यटनमन्त्री भएपछि औपचारिकरुपमा दोस्रोपटक विमानस्थलको निरीक्षणमा जानुभएका मन्त्री पोखरलले थप्नुभयो, “पहिलाको तुलनामा धेरै सुधार भएको छ, अझै सुधार गर्नुपर्ने कुरा धेरै छ ।”
गुणस्तरीय सेवा, सुन्दर, राम्रो आदर सत्कार गरी विदेशी यात्रुको पहिलो पाहिलामै नेपालप्रतिको दृष्टिकोण सकारात्मक बनाउनुपर्नेमा उहाँको जोड थियो ।
विमानस्थलमा वायुयान पार्किङ क्षमता अन्तर्राष्ट्रियतर्फ नौ, आन्तरिकतर्फ १७ र हेलिकप्टरतर्फ १३ वटा गरी जम्मा ३९ वटा रहेको छ ।
विमानस्थलमा अहिले कूल तीन हजार ६०० कर्मचारीले काम गरिरहेका छन् । त्यसमा स्थायी ३१३ जना र बाँकी करारमा छन् ।
सन् २००२ मा एक हजार ३४० यात्रु आवतजावत गर्न निर्माण गरिएको विमानस्थलमा अहिले प्रतिघण्टा दुई हजार २०० यात्रु आउनेजाने गर्दछन् ।
सन् २०२८ सम्म सम्पन्न हुने गरी तीन हजार ६०० यात्रु प्रतिघण्टा आवतजावत गर्न मिल्ने खालको नयाँ अन्तर्राष्ट्रिय भवन निर्माणको तयारी भइरहेको छ ।