लन्डन । बेलायतको नेपाली डायस्पोरामा उनको नाम अब नौलो रहेन । नेपाली सांस्कृतिक कार्यक्रम होस् वा बेलायती समुदायका संगीत महोत्सव । स साना इभेन्ट देखि वृहत कन्सर्टसम्म छाइरहेको छ एउटा अनुहार । ‘लाइम लाइट’ मा आउन त्यत्ति नचाहने ति साउण्ड इन्जिनियर हुन् हेमराज विष्ट । रेकर्डिष्ट, साउण्ड इन्जिनियर र डिजे उनको स्थापित परिचय हो । प्रविधिका क्षेत्रमा होमिएको २२ वर्ष अवधिमा उनीसंग अनुभवका खात छन् ।
जन्मभूमि झापा धाइजन १ बाट एसएलसी सकेर काठमाण्डौं आउंदा उमेर कलिलै थियो । मोफसलबाट राजधानी आउनेले शुरुतिर संघर्ष नगरि हुन्थेन । काम र सुन्दर भविष्यको खोजीमा उनी पनि भौंतारिए । काठमाण्डौं आएको करिब डेढ वर्ष जति हुंदो हो, भिनाजु स्वर्गीय जितेन्द्र कार्कीले आफ्ना प्रिय साथी स्वर्गीय संगीतकार प्रवीण गुरुङसंग भेटाइदिएपछि हेमको जीवनमा नयां मोड आयो । संगीतकार प्रवीण गुरुङले आफ्नो न्यू प्लाजास्थित विशाल रेकर्डिङ स्टुडियोमा उनलाई काम दिए रिसेप्सन र यता उति परेको काममा सघाउने गरि ।
गीत संगीतमा निक्कै रुचि राख्ने हेमलाई स्टुडियोमा सहायकको काम गज्जब भयो । ८, ९ कक्षा पढ्दा मन परेको क्यासेट लिन ५ माइलसम्म हिंड्ने उनलाई रेकर्डिङमै काम पाउनु सुनमा सुगन्ध थियो । तर, प्रविधिबारे केही ज्ञान थिएन, थियो त केवल युवा जोस र इच्छाशक्ति । सांझ रेकर्डिङ स्टुडियो बन्द गरेर रातभर सुटुक्क गीत रेकर्डिङ सिक्दै गए उनी । एक दिन प्रवीण गुरुङ स्टुडियो नआउने भएछन् तर रेकर्डिङ गर्न मान्छे आए । त्यतिबेला हेम आफैं कस्सिए रेकर्डिङ गराउन । फोर ट्रयाक रेकर्डिङ मसिनबाट उनले रेकर्ड गरिदिएपछि सबै दंग । विस्तारै उनको कामको तारिफ बढ्न थाल्यो । ६ महिना जतिमा त उनी उक्त स्टुडियोको मेन रेकर्डिष्ट नै भए । त्यतिबेलासम्म उनले शर्मिला बर्देवा, सीमा पोखरेल, सुनिल बर्देवा लगायतको गीत रेकर्डिङ गरिसकेका थिए ।
सन् १९९५ तिरको कुरा हो, नमस्ते व्याण्ड जापानबाट आउने निश्चित भयो रंगशालामा एकता नामक कन्सर्ट गर्न । १५ वर्ष जापान बसेका उक्त व्याण्डका ब्याण्ड लिडर र भोकलिष्ट इश्वर गुरुङले जापानबाटै एउटा जापनीज व्याण्ड र साउण्ड इन्जिनियर पनि साथैमा नेपाल ल्याए । उनका साथमा थियो करिब तीन हजार किलो तौल बराबरका अत्याधुनिक साउण्ड सिस्टम सामाग्री । हेमले उक्त कन्सर्टका लागि साउण्ड सिस्टमको जिम्मा पाए, कार्यक्रम संयोजक थिए इश्वर गुरुङ । त्यतिबेला पोखरामा पनि महाशिवरात्री म्यूजिक फेस्टिबल भयो ।
कन्सर्ट सकिएपछि जापानबाट ल्याइएको वाद्यवादन सामाग्री फिर्ता लाने कुरा भएन । बरु यतै सदुपयोग गरौं भन्ने सल्लाह भयो अन्नपूर्ण ब्याण्डका अम्बर गुरुङ पोखरेली र इश्वर गुरुङबीच । पछि १६ ट्रयाक डिजिटल रेकर्डिङ सिस्टमसहितको नमस्ते स्टुडियो खुल्यो । सन् १९९६ तिर करिब ५० लाख रुपैयां लगानीमा सञ्चालित उक्त स्टुडियो नेपालकै पहिलो अत्याधुनिक थियो ।
नयां स्टुडियो खुलेपछि विशाल रेकर्डिङ स्टुडियो बन्द भयो । नयांमा अम्बर गुरुङ पोखरेली मेन रेकर्डिष्ट भए भने हेम सहायक । हेमले कन्सर्टमा आएका बेला जापानी साउण्ड इन्जिनियर फुजिकावासंग ६ महिनाजति सिक्ने अवसर पाएका थिए । लगाव र इमान्दारिताले काम गर्दा गर्दै उनलाई पो सबैले मन मराउन थाले । अम्बर पोखरेली एरेन्जतिर लागेपछि हेमले नै मेन रेकर्डिष्टको जिम्मा सम्हाले ।
रविन एण्ड लुजाको ‘नेपाल’ एल्बमका लागि पहिलोपटक लाइभ इन्सट्रुमेन्ट सहित रेकर्डिङ गर्न सफल भए उनी । यही बेला मध्यान्ह, कन्दरा, मुक्ति एण्ड रिभाइभल, १९७४ एडी व्याण्डदेखि शम्भुजित बास्कोटासम्म गीत लिएर आउन थाले ।
नेपथ्य, फत्तेमान, रामकृष्ण ढकाल, अरुण थापा (अन्तिम एकल सांझ) आदिको एकल कार्यक्रममा साउण्ड इन्जिनियर उनै भए । वरिष्ठ संगीतकार अम्बर गुरुङ, सुगम पोखरेल, यम बराल, राजेश पायल राई, खेम गुरुङ, कुन्ती मोक्तान, दीप श्रेष्ठ, योगेश्वर अमात्य, ओमविक्रम विष्ट, सुकमित गुरुङ लगायत कयौं गायक गायिका र ब्याण्डसंग काम गर्ने अवसर पाए उनले ।
नेपथ्यले बुटबल, भैरहवा, पोखरा लगायत ६ शहरमा म्यूजिकल टुर गर्दा हेमले नै सम्हाले साउण्ड एण्ड लाइटको जिम्मा ।
सन् २००३ सम्म नमस्ते व्याण्डमा मेन रेकर्डिष्ट भएर काम गरेपछि उनले त्यहां छाडेर मिक्सिङतिर लागे । अब फ्रिल्यान्सर भएपछि बढि स्वतन्त्रता पनि भयो । सन् २००३ देखि नेपथ्यको अफिसियल साउण्ड इन्जिनियर भएर कोरिया, हङकङ, इजरायल, युरोप टुर गर्न पाए । नेपथ्यले त्यतिबेला नेपालयको आयोजनामा थालेको सुन्दर शान्त नेपाल र शान्तिका लागि शिक्षा नामक देशव्यापी अभियानमा हेम पनि संलग्न भए साउण्ड इन्जिनियरका रुपमा । उनीसंग पूर्व मेची देखि पश्चिम महाकालीसम्म ठूला साना कन्सर्ट गरेको अनुभव छ । उनले कुनै बेला एकैदिन काठमाण्डौं र पोखरामा सांगीतिक कार्यक्रम समेत गरेका थिए ।
सन् २००६ मा यूके आए उनी । यूके आएपछि उनी अहिले नेपाली र विदेशी समुदाय दुवैमा उत्तिकै व्यस्त छन् । सन् २००६ जुलाईमा इलिङ ज्याज फेस्टिवल भइरहेको थियो । त्यहां दर्शकका रुपमा पुगेका हेमले साउण्ड इन्जिनियर स्टिभ रिससंग चिनजान गरे । बिटिएल अडियो प्रो कम्पनीका चिफ स्टिभलाई हेमको लगाव र अनुभवले मन जितेछ, २ महिनापछि बोलाइहाले । त्यसयता उनी स्टिभका हरेक प्रोजेक्ट र सन् २००७ देखि दुई साता चल्ने इलिङ ज्याज फेस्टिवलमा नियमित काम गरिरहेका छन् ।
यसबाहेक ५४ स्कुल सहभागी हुने ह्याक्नी स्कुल म्यूजिक फेस्टिभलमा साउण्ड जिम्मा उनैको कांधमा छ । नेपाली र अंग्रेजी समुदायका बराबर कार्यक्रम गर्छन् हेम । ओटुमा अतिफ असलाम देखि अमेरिकन ब्याण्डका कार्यक्रम समेत गरेको उनी बताउंछन् ।
सन् २००८ मा इन्डियन आइडल प्रशान्त तामाङको कन्सर्ट गरेपछि नेपाली समुदायले उनलाई बोलाउने क्रम बढ्यो । पर्चा प्रोडक्शनले वेम्ली एरिनामा गरेको नेपथ्यको कन्सर्ट देखि सोही संस्थाको सेन्ट्रल लन्डनमा आयोजित फेसन शो सम्म गरेका छन् हेमले । हेमले एनआरएनए यूकेको आयोजनामा रेडिङमा भएको ‘ट्रिब्युट टु दि लिजेन्ड्स’ पनि गरे । यूके आउंदा राजेश हमाल, दीपक दीपाश्रीको कार्यक्रमदेखि उलवीचमा मह जोडीको कार्यक्रमसम्म हेमले नै सम्हाले । नेपाली संघसंस्थाका अधिकांश कार्यक्रम उनैको जिम्मामा छ अहिले ।
नेपालीले आफ्ना कार्यक्रममा साउण्ड लाइट भन्दा सजावट, खाना र पेय पदार्थमा बढि खर्चने गरेको तीतो अनुभव उनीसंग छ । ‘वास्तवमा जति नै मिठो खाएपनि, राम्रो डेकोरेसन भएपनि रमाइलो हुने अन्तिममा संगीतले नै हो’, हेम सुझाउंछन्, ‘त्यसकारण बरु खाना र पेय पदार्थमा कटौती गर्नुस् तर लाइट एण्ड साउण्डमा कहिल्यै सम्झौता नगर्नुस् ।’
यो क्षेत्रमा अनुभव र प्रशिक्षण अत्यन्त जरुरी देख्छन् उनी । नाचगानमा यूट्युव गीत बजाएर मात्र साउण्ड इन्जिनियर र राम्रो ‘डिजेइङ’ हुनेमा विश्वस्त छैनन् हेम । फूर्सद हुंदा अरुले गरेको कार्यक्रममा गएर केही सिकौं भन्ने उत्सुकता आफूमा रहेको हेमले बताए । जांदाजांदै उनले यसअघि नखुलाएको अर्को एउटा पेशा बताए जुन हो कारहरुको किनबेच । कुनै बेला दिनमा ६ सय माइलसम्म ड्राइभ गरेका उनी यो काम चाहिं सौखले मात्र गरेको बताउंछन् ।