सुरुङ्गा (झापा), ३ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई सङ्कटमा पारेर कसैसँग कुनै सम्झौता नगरिने बताउनुभएको छ ।
प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सहमतिलाई नै उल्लङ्घन गर्दै भारतले गरेको नाकाबन्दी अनावश्यक र अराजकतापूर्ण भएकाले नाकाबन्दी हटाउन नेकपा (एमाले) र वर्तमान सरकारले राष्ट्रियतालाई खतरामा पारेर कुनै पनि कदम चाल्दैन भन्नुभयो ।
मधेसवादीदलको आन्दोलन र भारतले गरेको नाकाबन्दी अलग अलग विषय भएको बताउँदै नेता खनालले भन्नुभयो, “कूटनीतिक तवरले नाका खोल्न प्रयन्न गरेपनि नाकाबन्दी खुलेन, अहिले भारत आफैं नाका खोल्ने पक्षमा पुगेको छ ।”
निहीत स्वार्थका लागि मधेसवादी दलले लामो समयदेखि तराईमा गरेको आन्दोलनको कुनै तुक नरहेको धारणा राख्दैै समस्याको समाधान आन्दोलनबाट नभई वार्ता र सम्वादबाट मात्रै सम्भव भएकाले आन्दोलनरत दललाई वार्तामा आउन आग्रह गर्नुभयो ।