एशियामा नै बेलायतसंग पहिलो दौत्य सम्बन्ध राखिएको भनिएको नेपालले समयको चक्करमा झेलिदै, थिचिदै, पग्लिदै दुई सय बर्षगांठ मनाएको देखियो । तर, त्यहां न बेलायतती रानी तथा युवराज नै उपस्थित थिए, न प्रधानमन्त्री । न ठूला मिडियाले कहि फुके, न बेलायती जनतालाई कुनै पत्तो नै भयो । बेलायती राज्यमन्त्रीले कार्यक्रम गरे र यसलाई नै ठूलो उपलब्धि मान्नु परेको छ । जंगबहादुरको बेलायत भ्रमण सम्झेर इतिहासमा रमाउनु बाहेक वर्तमानमा अरु ऐतिहासिक कार्य केहि हुन सक्ने भएन ।
नेपाली राजनीतिका चतुर खेलाडी कमल थापा यस कार्यक्रमको लागि बेलायत आए । धेरैसमय पछि बेलायती राजनीतिज्ञहरुसंग भेट गरे । नेपालका कुराहरु कमसेकम उच्च स्तरमा सुनाए । राजदूत नियुक्त गर्न नसक्ने नेपाल सरकारका मन्त्रीहरुसंग कुटनीतिक छलांगको आश त गर्ने कुरा नै भएन । धन्न लन्डन दूतावासका कर्मचारीहरुले आफ्नो धर्म नछोडेकाले र कुशलताले गर्दा यति भए पनि दुई सय बर्षगाँठको उपलक्ष्यमा कार्यक्रम भयो र बेलायतको परराष्ट्र मन्त्रालय हेर्ने मौका धेरैलाई मिल्यो ।
चाहे पंचायती ब्यबस्थाको अन्त्य तिर होस् या ज्ञानेन्द्र प्रतक्ष्य शासनकालमा होस् या अहिलेको नाकाबन्दी तथा तराईको आन्दोलन होस्, यी सबै समयमा आफूलाई केन्द्रबिन्दुमा पार्न सफल कमल थापाको खुबी त मान्नै पर्छ । दश बर्ष मकवानपुरमा चिकित्सक भएर काम गरेका बेलायतका नेपाली समाजसेवी डा राघब धिताल थापाको राजनीतिक शुरुवात देखि नै परिचित भएकोले उनलाई “चलाख ” मान्छेको संज्ञा दिन्छन् । हुनपनि हालै बीबीसी विश्व सेवालाई दिएको अन्तरबार्तामा यिनले आफ्नो खुबी देखाएका छन् ।
नेपालमा ०४६ सालपछि अहिले सम्मका सबै घटनाक्रम नियाल्दा नेपाल असफल राष्ट्रतिर धकलिदै छ । राजनैतिक पार्टीहरुको काम कारबाही देश र जनताले चाहे अनुरुप हुनै नसकेको यथार्थता हाम्रा सामु छदैछ । संसदीय व्यबस्थाको मर्म र भावना नबुझेर या बुझ पचाएर आ-आफ्नो स्वार्थमा लिप्त हुदै कुर्सीको खेलमा नै अलमल हुने परिपाटी अध्यावधिक रुपमा चली नै आइरहेको छ । सरकार र प्रतिपक्षी भनेको सरकारको नै दुई भाग हुन् । हरेक कुराको छिनोफानो संसदबाट नै हल गर्नुपर्छ । जनताका सरोकारका हरेक बिषयको सुनुवाई हुने परिपाटीको अरु बिकास भइ सडकमा साधारण जनतालाई आफ्नो दैनिक क्रियाकलाप गर्न निर्वाद रुपमा पाउनु पर्छ भन्ने चेत अरु छिरेर विकासका खम्बाहरुको दीर्घकालीन जग बसाल्न सुरु गर्नुपर्छ ।
एक पल्ट प्रधानमन्त्री भइसकेका व्यक्तिहरुले फेरी को को लागि सक्रिय राजनीति गरिरहेका छन् नेपालमा, बुझ्न गाह्रो छ । राजनैतिक संस्कारको बिकाश गर्ने हो भने पहिला प्रधानमन्त्री भइसकेकाहरु राजनीतिबाट हट्नु पर्छ । उनीहरु त ब्याक बेन्चमा बसी परेको बेलामा सल्लाह दिनेगरी च्यारिटी कामतिर लाग्नु सान्दर्भिक हुन्छ । “म नभई राजनीति चल्दैन” भन्ने प्रवृतिको अन्त्य हुनु पर्छ । पार्टीको अध्यक्ष घाटमा लिएर जाने पद होइन । एउटा पार्टी भित्र नै संसदीय दलको नेता पर्याप्त हुन्छ नेतृत्व गर्न, नाना थरिको पदले धेरैलाई विभूषित गरिने चलन छोड्नु नै पर्छ ।
जुन राष्ट्रिय पार्टीको पनि रक्षा र विदेश नीति एकै हुने नै हो । आ-आफ्नो पार्टीहरुको गर्न सकिने मात्र योजना र नीतिको तर्जुमा हुनु आवश्यक छ । सरकारमा गएको बेलामा केहि गर्न नसक्नेले सरकार बाहिर बोल्दा पनि त्यहि अनुरुप बोल्नु पर्छ । खालि बिरोधको लागि मात्रै होइन । कानुनी राज्य र समान अबसरको आधारमा कुटनीति, पुलिसमा राजनीति हस्तक्षेपवाट टाढा राख्नु पर्छ । योग्यता र दक्षताको आधारलाई आत्मसात गर्ने हो भने नेपालसँग प्रसस्त दक्ष जनशक्ति छदैछ । यिनीहरुलाई सहि परिचालन गर्न सके नेपालले काचुली फेर्न धेरै समय कुर्नु पर्ने छैन ।
भूकम्पबाट प्रभावितहरुको यथासक्य चाडै पुनर्निर्माण गर्नुपर्ने जस्तो गम्भीर कुरामा समेत चाडै काम कारबाही नबढेको देख्दा राजनीति प्रति स्वाभाविक रुपमा अरु वितृष्णा नेपाली जनमानसमा परिरहेछ । जुनसुकै पार्टी सरकारमा भएपनि यस्तो संबेदनशील विषयमा चाडै सबै मिलेर योजना बनाइ पुनर्निर्माणको काम तदारुकताका साथ अगाडी बढाउनुपर्ने कुरामा घिनलाग्दो राजनीति गर्नु लज्जाको कुरा हो ।
पुनर्निर्माण र विकासको कुरा गर्दा पाइलट प्रोजेक्टको रुपमा एउटा “मोडल भिलेज” को कन्सेप्ट तयार गरी नयाँ बस्तीको प्रादुर्भाव गर्न सकिन्छ । करिब दस हजार घरको एउटा गाउँ बनाएर हरेक घरबाट उपयुक्त कर उठाई करिब ३० प्रतिशत तलबमा कटाई बाँकी ७० प्रतिशत त्यहि गाउँमा नै लगानी गरी त्यहाँको स्कुल, अस्पताल, पुलिस, फोहर आदिको उचित व्यवस्थापन गर्ने परिपाटीको बिस्तार गर्न सके बिकासको लहर चाडै नै पुर्याउन सकिन्छ । यस्तै मोडेल प्रोजेक्टहरुको अनुसन्धान गरी बिकासका कार्यक्रम यथाशीघ्र चाडै थाल्नु पर्दछ ।
तराईमा भइरहेको समस्यालाई राजनीतिक उपाय द्वारा समाधान गरी अब देखि कहिपनि राजनीतिक मुद्दाको लागि जनतालाई दुख नदिने प्रण सबै पार्टीले गरी यसलाई गम्भीर रुपमा गर्नु पर्छ । नयां नेपालको बिकासमा सबैको आ-आफ्नो महत्वपूर्ण भूमिका हुने र यसको महसुश गर्न सबै नेपालीले गर्न पाउनु पर्छ । प्रजातन्त्र भनेको विधिको शासन हो, कानुनको शासन हो, सबै जनताको शासन हो । कसैको केहि सरोकार भए सबैले आ-आफ्नो ठाउबाट इमान्दारिता पूर्वक समाधान गर्ने पहल गरिहाल्नु पर्छ । यो नै संसदीय प्रजातन्त्रको सुन्दर पक्ष हो ।
पावर भनेको गजब नै हुदो रहेछ । यी कमल थापा ३/४ बर्ष अगाडि बेलायत आउदा यिनको भ्रमणको खासै महत्व भएन । अहिले फोटो खिचाउने देखि लिएर अहोरात्र भेटघाटमा व्यस्त भए । अरु जस्तो भए पनि व्यक्तिगत रुपमा यिनले आफ्नो भ्रमण सफल नै पारे ।
कमल थापाले मृदु शैलीमा भाषण लन्डन दूतावासमा सुनाए । बोलेर नै यहाँ सम्म आइपुगेका यिनले दूतावासमा सुन्ने सबै श्रोताको मन खिच्न सफल भए । सबैको ध्यान नेपालतिर नै लगे । नेपालको बर्तमान परिवेशको कल्पनामा सबैको चेहेरा गम्भीर भयो । मन मस्तिष्कमा नेपालको बारे धेरै कुरा ओहरदोहर भइ नै रह्यो ।
“०५२ सालदेखि ओरालो लागेको नेपालको राजनीतिले धेरै लाई निरास बनाएपनि यस अनुभवबाट पाठ सिकेर नेपालले द्रुत गतिमा बिकास र सम्वृद्धिको पाइला चाडै लम्कियोस् । सम्भव हुने क्षेत्रमा स्वावलम्बी हुनलाई हर तरिकाले अगाडी बढोस् । भारतको नाकाबन्दीको रापबाट पोलेको यस बखतको घाउको शीतलताको लागि भविष्यमा गर्नुपर्ने गृहकार्य माथि ध्यान सबैको सदैब पुगोस् । आर्थिक सम्वृद्धि नै सबै नेपालीको चाहाना हो भन्ने कुरा सबै राजनीतिज्ञको दिमागमा छिरी त्यहि अनुरुप द्रुत गतीमा काम अगाडी बढोस् । रोजीरोटीको लागि कसैलाई पनि बिदेशमा भोतारिन नपरोस् । आधुनिक शिप सिकी सबैलाई समान अबसरको प्राप्ति होस् । सबैलाई आ-आफ्नो धर्म संस्कृतिको महत्व बोध भइ यसको सम्बर्द्धन र प्रवर्धनको लागि आ-आफ्नो ठाउंबाट सबैलाइ उत्प्रेरणा जागोस् । परोपुकर र दानको शृंखला अरु ससक्त भएर बढोस् । हिमाल, पहाड, तराइमा बस्ने सबै नेपालीहरु एक ढिक्का भई नेपालको उन्नति र प्रगतिको लागि अरु ससक्त रुपले लागून् । पुर्खाले वीरताको साथ आर्जेको मुलुक नेपालको राष्ट्रियताको अरु मजबुत होस् …” भन्ने जस्ता अनेक तर्कना मनमा आइ नै रह्यो ।