‘संघर्षको कुनै सिमा र अवधि हुँदैन’ । नेता जीवराज आश्रितको भनाइ हो यो । जब सत्ता र शक्तिबाट मानव अधिकारको हनन् हुन्छ, अनि विभिन्न प्रकारका संघर्ष र आन्दोलनहरु जन्मँदै जाने गर्छ । आन्दोलनको चरण र रुपहरु फेरिंदै जान्छ । शान्तिपूर्ण, सांकेतिक र हिंस्रक आन्दोलनहरु समयअनुसार पनि हुने गर्छ ।
आन्दोलन जहिले पनि दमित समूह, वर्ग र जातिले आफ्नो अधिकार प्राप्तिको लागि गरेको पाइन्छ । जो अन्यायमा परेका हुन्छन् उनीहरुले आन्दोलन र संघर्षबाट न्याय खोज्छन् ।
बेलायती सेनामा नेपाली युवाहरुले काम गर्न थालेको २०० वर्ष भइसक्यो । २०० वर्षमा लाहुरेहरुले धेरै पाए कि, धेरै गुमाए ? धेरै गुमायौ भन्ने अनुभवले नै गोर्खा संगठनहरु जन्माइएको हो । गेसो, नेसा, विजिडब्ल्युएस, युविजिइए, बिगेसो र सत्याग्रह संयुक्त संघर्ष समिति लाहुरेहरुका संगठनहरु हुन । गेसोले आफ्नो रजत जन्मजयन्ती मनाइसकेको छ । अन्य संस्थाहरु पनि रजतजयन्तीको प्रतीक्षामा होलान् ।
यी संगठनहरुको मुद्दा एउटै हो । समान अधिकार प्राप्त गर्न संगठित भएका हुन् लाहुरेहरु । केही फरक छैन, उद्देश्य र मुद्दामा पनि । तर किन यति धेरै संगठनहरु ? धेरैले सोध्ने प्रश्न हो यो । माक्र्सको द्धन्द्धात्मक भौतिकवादले भने झैं प्रत्येक ठाउँमा द्धन्द्ध हुन्छ । तर आन्दोलनको उद्देश्य र मुद्दा एउटै भएर पनि किन द्धन्द्ध ? फरक फरक नाम गरिएका संगठनहरु किन ? यसलाई समीक्षा गर्न आवश्यक थियो धेरै पहिले तर कसैले गर्न चाहेनन् । मुद्दा एउटै भएकोले, संगठन पनि एउटा मात्र हुनु जरुर थियो र छ ।
धेरै संगठन जन्मनुको कारण
१. सांगठानिक ढाँचा, पद्दति र प्रक्रियालाई नजिकबाट हेर्न नसक्नु ।
२. राष्ट्रिय मुद्दा बनाउन नचाहनु र नसक्नु ।
३. ब्यक्तिवाद हावी हुनु ।
४. आफैंले आफैंलाई आत्मालोचना गर्न नसक्नु ।
५. बौद्धिक ब्यक्तित्वहरुको कमी र बौद्धिक ब्यक्तिहरुलाई किनारा लगाउँदै जानु ।
६. जुंगा र कुर्सीको लडाइँमा भावनाको खेती ।
यी माथिका विषयहरुमा गम्भिर रुपले छलफल नचलाई आन्दोलन चलिरहेको छ । गेसो भन्छ – गोर्डन ब्राउनको टी गार्डेनमा हाम्रो सहमति भएको थियो । सहमति अनुसार, अप्रिल महिना सन् २०१४ भित्र सबै माग पूरा हुनुपर्ने थियो । किन भएन ? गेसो नेकपा एमालेको भातृ संगठन थियो । अहिले नयाँ कार्य समिति बनेपछि रंगीन देखिएको छ । गेसोले धैरै बौद्धिक ब्यक्तिहरुलाई युज एण्ड थ्रो गरेको पाइन्छ । संगठनको आन्तरिक समस्या होला तर यसको शिकार डा. ओम गुरुङ्गदेखि गोपाल चिन्तनसम्म भएको पाइन्छ । स्थापनाकालदेखि अहिलेसम्म गेसोको अध्यक्ष पदम गुरुङ्ग नै रहेका छन् ।
विजिडब्ल्युएस भन्छ – हामीले युरोपियन ह्युमन राईट अदालतमा मुद्दा लगाएका छौं । युरोपियन अदालतले गोर्खाहरुलाई न्याय देऊ भने पनि बेलायतले अनिवार्य कार्यान्वयन गर्नै पर्छ भन्ने मान्यता राख्दैन । लाहुरेहरुप्रति नकरात्मक धारणा सार्वजानिक गरेका जेरार्ड होवार्थलाई संसदमा जिताउन घर दैलो कार्यक्रममा सरिक हुन्छ । विजिडब्ल्युएसले नेपालको राजनीति बुझ्न नचाहे जस्तो र कुनै राजनैतिक पार्टीहरुसंग सम्बन्ध विस्तार गर्न पनि नचाहेको भन्ने लाग्छ । यो संस्था जन्मिएदेखि अहिलेसम्म टिकेन्द्रदल देवान नै अध्यक्ष छन् ।
नेसाले सत्याग्रहसंगै पार्लियामेन्ट अगाडि ज्याकी डोयल्स प्राईजलाई आफ्नो रिपोर्ट पनि बुझाएको थियो । त्यो कस्तो थियो जानकारी छैन । र, नेसा अहिले के गर्दैछ पत्तो पाउन गाह्रो छ । नेसा नेपाली कांग्रेसको भातृ संगठन हो । आधा दशकदेखि यो संस्थाको अध्यक्ष केशबहादुर गुरुङ्ग नै छन् ।
लाहुरेहरुले दोहोरो नागरिकता पाउनु पर्छ भन्ने मान्यता राखेको देखिन्छ बिगेसोले । नेपालको एकल संबिधान बनेपछि के गर्दैछ विगेसो ? सिपी गजुरेल वेलायत आई उनीहरुलाई के भनेर गए ? उनी नेपाल फर्कनासाथ मोहन बैद्यले गोर्खा भर्ती बन्द हुन पर्ने धारणा राखे । बिगेसो ड्यास माओवादीको भात्री संगठन जस्तो देखिन्छ । हालैमा गोपाल शिवाकोटी चिन्तनलाई बेलायतमा बोलाउने हल्ला सुन्नमा आएको छ ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको आन्दोलन उचाईमा पुगेको थियो आमरण अनसनको बेला । आन्दोलनले समान पेन्सन पाउँछ भन्ने धेरैले विश्वास गरेका थिए । तर समान पेन्सन पाउन सकेन । तीस वर्ष उमेर ननाघेका लाहुरेका छोराछोरीहरु बेलायत आउन÷जान पाउने भए । आइएलइ एप्लाई रकम दुई लाख अठसठ्ठी हजार रुपियाँबाट घटाएर एक लाख बाउन्न हजार रुपियाँमा झार्न सफल भयो । विदेशी केटी विहे गरेकालाई खाली हात फर्काइएको थियो, उनीहरुको तथ्यांक संकलन गरिरहेको सुन्नमा आएको छ । वेलफेयरमा केही सुधार गरिने लिखित प्रतिवद्धता सत्याग्रहले पाएको भन्ने सुनिन्छ । विधुवाहरुले पनि तीस वर्ष मुनिका आफ्ना छोराछोरीहरु बेलायत ल्याउन पाउने यो पंतिmकारले सुन्या हो । सत्याग्रहको आमरण अनशनले पाएको यति हो जस्तो लाग्छ ।
सत्याग्रहले ज्याकी डोयल्स प्राईज र भिरेन्द्र शर्मालाई चुनावी अभियानमा सघाएको थियो । डेभिड क्यामरुन दोस्रो कार्यकाल प्रधानमन्त्री भएपछि ज्याकी डोयल्सलाई मन्त्रिमण्डलमा लाने भएकोले सर्वदलीय समितिको प्रमुखबाट हटाइएको भन्ने पनि सुन्नमा आयो । तर उनी मन्त्रिमण्डलमा रहेको जस्तो लाग्दैन । उपप्रमुख भिरेन्द्र शर्मालाई सर्बदलीय समितीको प्रमुख बनाइएको छ भन्ने आएको छ । आमरण अनसन नै हाम्रो अन्तिम लडाई भनिएको थियो । तर आमरण अनसन बसेको दुई वर्ष पूरा हुन लाग्यो । वाक्यको सार्थकता नमिले जस्तो लाग्छ ।
सत्याग्रहका संचार विभाग प्रमुख दीपक मास्के एक वर्ष अगाडि नै राजीनामा दिएर निस्क्रिय रहेका छन् । डा. चन्द्र लक्सम्बा, कृष्ण हेम्ब्या लगायत संस्था भन्दा बाहिर निस्किसकेका छन् । २४ घण्टे रिले आमरण अनसनमा बसेका धेरै जसो संस्थाभन्दा टाढा रहे जस्ता देखिन्छन् ।
सत्याग्रहले संस्थामा बिना छलफल मोदीको बेलायत भ्रमणमा बिरोध पत्र सार्वजनिक गर्यो । बैंठकमा जी २०० लाई बहिस्कार गर्ने निर्णय गरिएको थियो । तर नेपालका उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा नेपाल बेलायतको दुई शताब्दीको दौत्यसम्बन्ध मनाउन बेलायत आउँदा बैंठकमा छलफल नगरी तनमनले स्वागत गरियो । यी यस्ता सांगठानिक मर्यादालाई कुल्चेर संस्था बाँच्न सक्दैन केवल ब्यक्ति मात्र बाँच्न सक्छ । सांगठानिक ढाँचा, पद्दति र प्रकृयालाई नजिकबाट हेर्न नसक्नु नै गोर्खा संगठनहरुको दशा सावित भएको छ ।
कमल थापाले लाहुरेको समान अधिकारको बारेमा बोल्यो भनी खुशी हुने एउटा समूहको निर्माण भएको छ । उनले बोलेको सबैभन्दा बलियो वाक्य यति हो “…this history year of the centenary and few address the remaining issues of the gurkhas” भावनाले बोलेकी साँच्चै समानताको बारेमा बोल्यो ? अब भविष्यले जनाउने छ । फेरि एक हुल सपना र ताराहरु भावनाको आकाशबाट खस्न सक्छ कि भन्ने डर छ यो पंतिकारलाई । कमल थापाको ब्लाङ्गक फायर, लाईभ राउण्ड जस्तै बन्न सके सबै असमानताको सिकार भएका लाहुरेहरु कति रमाउने छन् ? मेरो पनि कामना छ । हामी सबै हाँस्न सकौं । गोर्खा आन्दोलनले सफलता पाउनु पर्छ । कमल थापा जिन्दावाद भन्नेहरु फेरि आमरण अनसन नसोँच्नु राम्रो होला । यो देशमा आमरण अनसन बस्नुलाई के पो भन्छन्……….?
आन्दोलनलाई सफल बनाउन प्रयत्न गराैं । जसका लाग यी कुराहरू हुनु जरूरी छ :
१. जुंगा र कुर्सीको लडाइँमा भावनाको खेती अन्त्य गर्दै गोर्खा आन्दोलन सफल बनाउन सबै संगठनहरु एक हुन अनिवार्य शर्त हो ।
२. आन्दोलनलाई राष्ट्रिय मुद्दा बनाउन सक्नु पर्दछ ।
३. ब्यक्ति हावी हुने प्रवृतिको अन्त्य गर्न सक्नु पर्छ ।
४. आत्मालोचना गर्दै अघि बढ्ने पाठ सिक्न जरुरी देखिन्छ ।
५. नेपाल संस्कारले धक फुकाएर लाहुरेको बारेमा बोल्न सक्नु पर्छ ।
यो आन्दोलनको बाह्य रणनीति हुन सक्छ । तर अब गोर्खा आन्दोलन कति रहला ? सबैको मनमा खड्किएको प्रश्न र चिन्ताको विषय भएको छ ।
(लेखमा व्यक्त विचारहरु लेखकका निजी हुन् । ती विचारहरुमा सम्पादकीय मण्डलको सहमति हुनैपर्छ भन्ने छैन ।)