काठमाडौं, ११ पुस । एक जमानामा समृद्धि, विकास र सुरक्षाको पर्याय बनेको युरोप यतिखेर भने विभिन्न समस्याको जालोमा फसेको छ । दोस्रो विश्वयुद्धपछि विश्वमा सम्पन्नताको सफल उदाहरणका रुपमा उदाएको युरोपलाई अहिले सुरक्षादेखि अर्थतन्त्रसम्मको अप्ठेराले घेरेको छ ।
त्यसैले कतिपयले भन्ने गरेका छन् विश्वयुद्धपछिको विश्व संरचनाले अब युरोपलाई धान्न सक्ने अवस्था छैन । एकातर्फ युरोपकै देशहरु एक अर्काेगरी आर्थिक मन्दीमा फस्दैछन् भने अर्कातर्फ उनीहरुको सम्पन्नतामा असुरक्षाको आँखा लाग्न थालेको पनि भान हुन थालेको छ ।
युरोप पछिल्लो समयमा आतङ्कवादको तारो हुने गरेको अवस्थालाई विश्वका कतिपय विश्लेषकहरुले यसरी पनि बुझेका छन् । त्यसैमा पनि सन् २०१५ त युरोपका लागि निकै नै कष्टकर बन्न पुगेका समाचारहरु संसारभर नै छाए । सुरुका दिनहरुमा पेरिसको हमलाकै कारण युरोपमा आतङ्कको त्रास फैलियो भने पछिल्लो समयमा आप्रवासीले पनि युरोपलाई नै गन्तब्य बनाएका कारण युरोप संसारको समाचार बन्यो । त्यस्तै वर्षको उत्तराद्र्र्धमा पनि पेरिसमा नै हमला गरी वरिपरीका सारा युरोपेली देशहरुलाई समेत खतरामा रहेको सङ्केत गर्दै यस वर्ष बिदाइको निकटमै छ ।
गत नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा आइएस नामको इस्लामिक अतिवादी संगठनका नामबाट भन्दै आक्रमण भयो र त्यसमा परी १३० जनाभन्दा बढीको ज्यान गयो । त्यसमा परी ३०० जनाभन्दा बढी नराम्ररी घाइते भए र तीमध्ये आधाआधी जति अहिले पनि अस्पतालमै छन् ।
पेरिसमा गरिएको आतङ्ककारी आक्रमण यस वर्षको पहिलो होइन । सन् २०१५ मा गरिएको यो दोस्रो हमला थियो । वर्षको सुरुमै त्यहाँ यसै आतङ्ककारी संगठनको आक्रमण भएको थियो र सो आक्रमणबाट १४ जनाको ज्यान गएको थियो । उनीहरुले पेरिसमै रहेको एक पत्रिकाको कार्यालयमा हमला गरे र सम्पादकसहित ती व्यक्तिको हत्या गरेका थिए ।
यसरी वर्षको सुरुवातसँगै युरोपमा आतङ्ककारी हमला सुरु भएको थियो । त्यसपछि लगभग युरोपभरि नै यसवर्ष आतङ्कको त्रास रह्यो । वर्षको उत्तराद्र्धमा भएको पेरिसकै अर्काे यस हमलाले यतिखेर युरोपभरि नै त्रास छाएको छ । यस आक्रमणको छिटा अरुतिर पनि पर्ने त्रासमा आज सिङ्गो युरोपभरि कडा सतर्कता अपनाइएको छ ।
पेरिसमा भएको यो पछिल्लो आक्रमणसँग युरोपका धेरै देशको नाम मुछिएको छ । जानीजानी आतङ्ककारीहरुले पेरिस वरिपरीका देशहरुमा बसेर यो आक्रमणको जालो बुनेको रहस्य पछि आएर खुल्दै गएको छ । उनीहरुले यो आक्रमणका लागि वर्षदिन पहिलादेखि योजना बनाएका रहेछन् र त्यसको प्रमुखस्थल बेल्जियम रहेछ । पेरिसका विभिन्न सात स्थानमा भएका हमलामध्ये धेरैको ज्यानलिने स्टेडियमको हमलाका मुख्य योजनाकारको बासस्थान बेल्जियममा थियो । उसले नै त्यस आक्रमणका लागि सबैलाई तयार पारेको तथ्य उसको घरबाट प्राप्त प्रमाणहरुले देखाएको थियो ।
त्यस्तै सो आक्रमणका लागि उनीहरुले हतियार जर्मनीमा किनेको अर्काे तथ्य पनि अनुसन्धानका क्रममा नै खुलेको हो । जर्मनीको एक दैनिक पत्रिकाले हालै प्रकाशन गरेको समाचारमा सो समाचार बाहिर आएको हो । उनीहरुले जर्मनीको बजारबाट शक्तिशाली हतियार खरिद गरेको देखिएको सो समाचारमा जनाइएको थियो । यसबाट उनीहरुले बेल्जियम तथा जर्मनीमा पनि हमलाको योजना गरेका पनि भेटिएको थियो ।
यता पेरिसमा वर्षमा दुई दुई पटकसम्म यसरी आतङ्कवादी हमला भएको भनी चर्चा भइरहँदा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले भने बेलायतले यसैवर्षमात्र यस्ता सम्भावित पाँचवटा आतङ्ककारी हमलालाई आफ्नो देशले निस्तेज पारेको बताउनुभएको थियो । उहाँले आतङ्ककारीहरुले बेलायतलाई पनि तारो बनाएका तर साना ठूला गरी बेलायतले यसवर्षकामात्र ती योजनालाई असफल तुल्याइदिएको जानकारी दिनुभएको थियो । यसबाट बेलायत पनि आतङ्कारी आक्रमणको तारोमा थियो भन्ने अर्काे तथ्य पनि बाहिर आएको छ ।
फ्रान्सको सो हमालपछि पनि आतङ्ककारीहरुले समय समयमा विभिन्न युरोपेली देशमा आक्रमणको धम्की दिए । कहिले कुन देशको त कहिले कुनको हवाई जहाजमा बम राखिएका तथा विभिन्न पार्क, विद्यालय वा नाट््यशालाहरुमा बम राखिएका र हमला हुनसक्ने भनी चेतावानी पनि दिने गरिएका समाचारहरु आएका थिए ।
यसअघिका केही वर्ष युरोपको नाम आर्थिक मन्दीसँग जोडिएर आएको थियो । ग्रिस, स्पेनलगायतका केही देशमा यसको प्रत्यक्ष असर नै देखियो । अर्थशास्त्रीहरुले यसलाई युरोजोन क्राइसिस् (युरोपेली क्षेत्रमा देखिएको आर्थिक सङ्कट) भनेरै नाम दिएका थिए । त्यस समस्याले पछिल्लो समयमा गतिलिनेजस्तो देखिन थालेपछि फेरि यो आतङ्कवादले युरोपमा नै प्रवेश गरेको छ ।
आप्रवासन यसवर्षको अर्काे टाउको दुखाई थियो । सन् २०१५ भरिमा युरोपका समाचारहरु लगभग यही आप्रवासीहरुको समस्या नै बन्यो । आप्रवासीहरुले यसवर्ष शरणका लागि युरोपलाई आफ्नो गन्तव्य बनाइदिँदा यस विषयलाई सबैजसो युरोपेली राष्ट्रहरुले नै नयाँ ढङ्गले सोच्नुपर्ने अवस्थामा ल्याइदिएको थियो ।
अब युरोपेली क्षेत्रले यो ठूलो आप्रवाशनको लर्काेलाई कसरी थेग्नसक्छ भन्ने बारेमा पनि सोच्नुपर्ने अवस्था यसले ल्याइदिएको छ । त्यसैले उनीहरु कहिले शरणार्थीेहरुका लागि छुट्टै सेन्टर निर्माण गर्नुपर्ने त कहिले यसको साझा नीति तय गर्नुपर्नेजस्ता विषयको बहसलाई नै उठाइदिएको छ । आप्रवासीहरुलाई शरण नदिउँ युरोप भनेको मानवअधिकारका लागि लडेको क्षेत्र हो भनिन्छ भने दिउँ भने यसलाई थेग्न युरोपलाई नै गाह्रोपर्ने अवस्था पनि आइरहेको छ । यस्तै विषयमा अहिले पनि युरोपले छलफल जारी नै राखेको छ ।
बिबीसीले हालैमात्र सार्वजनिक गरेको एक तथ्याङ्कमा सन् २०१५ मा मात्र कम्तीमा पनि १० लाख शरणार्थी युरोप छिरेका छन् । उनीहरुमध्ये अधिकांश सिरियाबाट त्यहाँ पुगेका हुन् । यो सङ्ख्या सन् २०१४ को भन्दा चार गुणाले बढी हो । यी आप्रवासीमध्ये सबैजसो नै शरण मागेर त्यहाँ पुगेका हुन् । उनीहरुमा आधाजति सिरिया र २० प्रतिशत अफगानिस्तानबाट त्यहाँ पुगेका पनि बिबीसिले आफ्नो समाचारमा जनाएको थियो ।
यसरी शरणमाग्न त्यहाँ पुगेका शरणार्थीमाथि कैयौँ स्थानमा दुव्र्यवहार पनि भएको छ । कतिपय युरोपेली देशले नै प्रवेशमा रोक लगाएका र कतिले खाना र बासका अत्यावश्यक सेवाको मापदण्डभन्दा पनि तल राखेका देखिन्छ । त्यस्तै युरोप छिर्ने क्रममा अत्यन्तै जोखिमपूर्ण रुपमा जाने गरेका करिब तीन हजार ६०० शरणार्थी समुद्रमा डुबेर पनि ज्यान गुमाएका छन् । उनीहरुको राम्रो अनुगमन सुरक्षा निकायहरुले पनि गर्न नसकेको पनि पाइएको थियो ।
आन्तरिक राजनीतिक हिंसा, मुस्लिम अतिवादीहरुका विभिन्न स्थानका हिंसा नै आप्रवाशीहरु बढ्ने प्रमुख कारणका रुपमा रहेको छ । सिरियामा गएको करिब पाँच वर्षदेखि हिंसा जारी छ । त्यहाँका साढे दुई लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने अरु लाखौँ लाख नागरिक घरबारबिहीन भइभागेका छन् । यसरी आन्तरिक चरम हिंसा खप्न नसकेर देश छोड्ने नागरिक अफगानिस्तानमा पनि छन् ।
त्यस्तै पछिल्लो समयमा इराक, नाइजेरिया, सोमालिया, मध्यअफ्रिकामा पनि यस्तै खालको हिंसा जारी छ । यसै भूगोलका यी हिंसाहरुले अहिले आएर युरोपलाई नराम्ररी समस्यामा पारेका छन् । एकातर्फ यसरी घरबार छोडेर हिँडेका नागरिकलाई शरण दिनुपर्ने तथा अर्कातर्फ युरोपमा नै आतङ्कवादीहरुको तारो बढिरहेकाले यसबाट पनि बच्तुपर्ने दोहोरो समस्यामा सन् २०१५ मा युरोप क्षेत्र प¥यो । यो वर्ष त सकिनै लाग्यो तर यी दुई प्रमुख समस्या भने सकिएका छैनन् । आगामी वर्षमा पनि यी समस्या समस्याकै रुपमा रहने सङ्केत अहिलेसम्मको अवस्थाले देखाएको छ ।