भक्तपुर, ११ पुस । भूकम्पले क्षति पुरयाएको भक्तपुर दरबारस्क्वायरमा रहेको राष्ट्रिय कला सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ९० प्रतिशतले घटेको छ ।
विनासकारी भूकम्पपछि टेको लगाइएको सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा यसवर्ष गतवर्ष भन्दा ९० प्रतिशतले पर्यटकको आगमन घट्दा राजस्व सङ्कलनसमेत प्रभावित भएको सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।
केही महिना अघिसम्म विदेशी पर्यटकको आगमन न्यून रहेको भक्तपुरमा एक महिनाअघि पर्यटकको आगमन बढ्दै गएपनि लोडसेडिङ्गले सङ्ग्रहालयलाई थप प्रभावित बनाएको उहाँको भनाइ छ ।
भूकम्पले सङ्ग्रहालय रहेको राणाकालिन भवनमा क्षति पुरयाएपछि केही समय पर्यटकका लागि बन्द गरेपनि भवनलाई टेको लगाएर व्यवस्थापन गरेपछि खुल्ला गरिएको थियो ।
सङ्ग्रहालयकी प्रमुख नकर्मीले भन्नुभयो, “भूकम्प कै कारण पर्यटकको आगमन घट्यो, अहिले पर्यटक बढ्ने क्रममा लोडसेडिङ्गका कारण सङ्ग्रहालय हेर्न आएका पर्यटकलाई पनि फर्काउनुपरेको छ ।”
विगतका वर्षमा लोडसेडिङमा जेनेरेटर चलाएर पनि पर्यटकलाई अवलोकन गर्ने व्यवस्था मिलाइएकोमा यसवर्ष नाकाबन्दीका कारण इन्धन अभाव र जेनेरेटर सञ्चालन गर्दा भवन थर्किएर चर्किएकोले थप समस्या पार्ने भएपछि जेनेरेटर सञ्चालन हुनसकेको छैन ।
चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्ममा सङ्ग्रहालयमा नेपाली विद्यार्थी एवम् नागरिक दुई हजार ९८१ जना, सार्क राष्ट्रका पर्यटक ७२ जना, अन्य विदेशी पर्यटक ५८० जना, नेपाली क्यामरा म्यान २३ जना, विदेशी क्यामरा म्यान ४४ जना र थान्का एवम् पेन्टिङ किताबको अवलोकन गर्न एक जना मात्रै आएको सङ्ग्रहालयका कर्मचारी ईन्द्रबहादुर सापकोटाले जानकारी दिनुभयो ।
विगतका वर्षमा एक महिनामा स्वदेशी तथा विदेशी पर्यटकले सङ्ग्रहालय अवलोकन गर्दा एक महिनामा रु ९० हजारदेखि २५० हजारसम्म हुने गरेकोमा यसवर्ष गत साउनदेखि मङ्सिर मसान्तसम्म जम्मा रु एक लाख ४८ हजार ७१५ मात्र सङ्कलन भएको सङ्ग्रहालय काउण्टरका कर्मचारी मानबहादुर शाक्यले जानकारी दिनुभयो ।
सङ्ग्रहालयमा उज्यालो नपुग्ने भएकाले लोडसेडिङ्गका बेलामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई फर्काउनुपर्दा राजस्वसमेत प्रभावित भएको हो । दरबारस्क्वायर प्रवेश गर्ने गेटमै भक्तपुर नगरपालिकाले विदेशी पर्यटकसँग पर्यटन शुल्क लिने र नगरपालिकालाई शुल्क तिरेर आए लगत्तै सङ्ग्रहालयमा पनि शुल्क तिर्नुपर्ने भएपछि कतिपय पर्यटक भने सङ्ग्रहालय नआइजाने गरेका छन् ।