सडक विभाग र जिविसले सडक निर्माण सम्पन्न भएको भन्दै रु सात करोड निर्माण समिति र निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको छ तर कमिसनको चच्करका कारण सडक गाडी गुड्न लायक नहुँदा प्रयोगविहीन भएको हो ।
सडक सञ्चालनमा नआउँदा १५ गाविसका बासिन्दालाई आवतजावत र दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न समस्या भएको छ । सडक नहुँदा विकास निर्माणको कामसमेत प्रभावित बनेको छ ।
सडक सुविधा नहुँदा बिरामीलाई उपचारका लागि डोकोमा बोकेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ । थलह सडकमा जिविस, सडक विभागले १० वर्षअघि ट्र्याक खोलिएको २२ किलोमिटर सडकमा रु सात करोड बढी रकम खर्च भइसकेको छ ।
सडकमा ट्र्याक्टरसमेत चल्न सकेको छैन । सडक बनाऔँ यातायात सञ्चालन गरौँ भन्ने सोच नहुँदा र हचुवाका भरमा सडक खन्दा यस्तो हुन गएको प्राविधिकले बताएका छन् ।