काठमाडौँ, १३ पुस । व्यवस्थापिका–संसद्को आजको बैठकमा मधेसी मोर्चाका सांसदको नाराबाजीबीच सरकारका तर्फबाट विभिन्न प्रस्ताव प्रस्तुत भए ।
बैठक सुरु हुनेबित्तिकै मोर्चा आबद्ध विभिन्न राजनीतिक दलका सांसदले सभामुखको आसन अगाडिको वेल घेराउ गर्दै नाराबाजी सुरु गर्नुभएको थियो । अपराह्न १ बजेका लागि बैठक बोलाइएको भए पनि आधा घण्टा ढिलो बैठक सुरु भएको थियो ।
बैठकको सुरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘एसियाली पूर्वाधार लगानी बैंकको विधान सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति दियो ।
यसैगरी, अर्थमन्त्री पौडेलले प्रस्तुत गर्र्नुभएको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
समृद्धिका लागि गुणस्तरीय शिक्षा आवश्यक
आजको बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा प्रस्तुत ‘शिक्षा ( आठाँै संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको थियो । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले बेरोजगारी उत्पादन गर्ने खालको विधेयक भएको टिप्पणी गर्नुभएको थियो ।
नेपाली काँग्रेसका राधेश्याम अधिकारी र नेकपा (एमाले)का गङ्गालाल तुलाधरले शैक्षिक अवस्थालाई सुधार गर्न विधेयकले कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षामा यसले जोड दिएको बताउनुभयो ।
सांसदहरु अम्मरबहादुर थापा, निशाकुमारी साह, गीता क्षेत्री, श्यामकुमार श्रेष्ठ र उमेश श्रेष्ठले भाग लिनुभएको थियो ।
सांसदले उठान गर्नुभएको जिज्ञासाको जवाफमा शिक्षामन्त्री पोखरेलले २०६६ सालयता शिक्षा मन्त्री भएकाहरु विधेयक तयारीमा जुट्नुभएको बताउनुभयो । उहाँले नयाँ संविधानअनुसार मेल खाने गरी नयाँ शिक्षा नीति बनाउन विधेयकले सहयोगी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।