काठमाडौँ, १४ पुस । नेपालमा अझै ४६ लाख मानिस नागरिकताविहीन रहेको एक अध्ययनले देखाएको छ ।
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आज यहाँ सार्वजनिक गरेको ‘नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्तिः अनुमान र प्रक्षेपण’ विषयको पुस्तकमा उल्लेख भए अनुसार नागरिकतासम्बन्धी व्यवस्था स्पष्ट हुन नसक्दा सन् २०१४(दुई वर्षअघि) सम्म अझै ४६ लाख मानिसले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।
सन् २०११(विसं २०६७।६८) देखि संस्थाले गर्दै आएको अध्ययन अनुसार उक्त वर्ष नागरिकता नपाउनेको सङ्ख्या ४३ लाख थियो भने सन् २०२१(विसं २०७७।७८) सम्म सो सङ्ख्या बढेर ६७ लाख पुग्ने अनुमान गरिएको छ । सो अनुमान नागरिकता प्राप्त गर्ने उमेर पुग्ने समूहलाई आधार मानेर गरिएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्त सविन श्रेष्ठले जानकारी दिए ।
उनले प्रत्येक वर्ष नागरिकता प्राप्त गर्ने उमेर समूहलाई तथ्याङ्कमा प्रस्तुत गर्दै संविधानमा नागरिकतासम्बन्धी भएका प्रावधान एकार्कामा बाझिने भएकाले नागरिकता नपाउनेको सङ्ख्या बढ्ने बताए । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा सबै नेपालीले कानुनी पहिचान प्राप्त गरिसक्नुपर्ने भएकाले राष्ट्रिय योजना आयोगले सोहीअनुसार कार्य गरिरहेको उहाँले जानकारी दिए ।
एफडब्लुएलडीका संस्थापक अध्यक्ष सपना मल्ल वर्तमान अध्यक्ष मीरा ढुङ्गानाले संविधानमा नागरिकताका सम्बन्धमा महिलालाई पनि अधिकार दिइएको तर त्यसको कार्यान्वयन पक्ष भने फितलो भएको देखिएको बताए ।