काँकडभिट्टा (झापा), १४ पुस । बङ्गलादेश सरकारले भूकम्पपीडितका लागि आठ महिनाअघि पठाएको चामल खाद्य संस्थान कार्यालय, झापाकै गोदाममा थन्किएर बसेको छ ।
खाद्य संस्थान कार्यालय मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद उपाध्यायका अनुसार देशको अहसज परिस्थितिका कारण ६१ हजार क्विन्टल चामल गोदाममै थन्काउनुपरेको हो ।
उहाँले बङ्गलादेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि नेपाललाई प्रदान गरेको एक लाख क्विन्टल चालम पूर्वी नाका काँकडभिट्टा हुँदै गत जेठमा ल्याएर खाद्य संस्थान कार्यालय, मेचीको गोदाममा थन्काएको बताउनुभयो ।
अञ्चल प्रमुख उपाध्यायका अनुसार हालसम्ममा ३९ हजार क्विन्टल चामलमात्र प्रभावित क्षेत्रमा पठाइएको छ । उहाँले भन्नुभयो – “हाम्रो खुसीले काम गर्ने कुरा आउँदैन । सरकारको नीतिअनुसार चल्नुपर्दा आजसम्म चामल गोदाममै राख्नुपरेको हो ।”
उहाँले सरकारले प्रभावित क्षेत्रमा चामल ढुवानीका लागि हरहर महादेव ढुवानी सेवा सङ्घ हेटौँडासँग सम्झौता भइसकेको जानकारी दिँदै भन्नुभयो – “अब चाँडै प्रभावित क्षेत्रका पीडितसामु चामल पुग्नेछ ।”
हाल राहतका लागि आएको चामल खाद्य संस्थान कार्यालय, बिर्तामोड र चन्द्रगढीका पाँचवटा गोदाममा रहेका छन् ।
त्यसैगरी, बङ्गलादेश, भारत र सिक्किमबाट राहतका लागि प्राप्त तीन ट्रक कम्बल आज झापाबाट गोर्खा र नुवाकोटलगायतका प्रभावित क्षेत्रमा पठाइएको छ ।
मेची भन्सार परिसरस्थित इन्टरमोडल कम्पनीको गोदाममा रहेको पाँच ट्रक कम्बलमध्ये सोमबार दुई ट्रक सिन्धुपाल्चोक र रसुवाका लागि पठाइएको प्रजिअ तेजप्रसाद पौडेलले बताउनुभयो ।