विराटनगर, २१ पुस । एकीकृत नेकपा (माओवादी) १ नम्बर प्रदेश समितिको तीनदिने प्रथम बैठकले आठसूत्रीय सार्वजनिक महत्वका विषय कार्यान्वयनमाथि जोड दिएको छ ।
सुनसरीको इटहरीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायत पार्टी पदाधिकारीसहितको तीनदिने बैठक पुस १८ देखि २१ गतेसम्म बसेको थियो ।
यस सम्बन्धमा १ नम्बर प्रदेशका इन्चार्ज राम कार्की ‘पार्थ’ ले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय अन्तर्राष्ट्रिय जनमत तयार गरी अविलम्ब नाकाबन्दी अन्त्य गर्नुपर्ने मागका साथै मधेसी, थारु, मुस्लिम र जनजातिलगायतका माग तत्काल पूरा गर्न सो बैठकले जोडदार माग गरेको जानकारी गराउनुभयो ।
यसका साथै कोसी उच्च बाँधको निर्माणको विषयमा सो क्षेत्रका लाखौँ जनताको भविष्य प्रभावित हुनसक्ने भएकाले ती जनताको सुरक्षा सरोकारका कुरालाई सम्बोधन गरेर मात्र काम अगाडि बढाउनुपर्ने बैठकले निर्णय गरेको छ ।
विराटनगर जुट मिल देशको गौरव रहेको चर्चा गर्दै इन्चार्ज कार्कीले अविलम्ब सो मिल सञ्चालन हुनुपर्ने र ओगटेको जमिन र चर्चेको भौतिक संरचनाको संरक्षण गर्नुपर्ने, सुनसरीको इस्टर्न सुगर मिलले उखु किसानलाई समयमै भुक्तानीको व्यवस्था गर्नुपर्ने साथै जोगवनी–किमाथाङ्का नाकालाई तुरुन्त खोल्नुपर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
यसका साथै झापाको शिवगन्ज र धनकुटाको पाख्रिवासमा कृषि कलेजको स्थापना, यस प्रदेशका भूकम्प, पहिरो र बाढीबाट पीडित परिवारका जीवन रक्षाका साथै स्वास्थ्य, शिक्षा र गुजाराको ग्यारेन्टीसमेत माग गरिएको छ ।
त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मेडिकल कलेजको स्थापना गरी यस प्रदेशमा बसोबास गर्ने निर्धन परिवारलाई विशेष ग्राह्यताका साथ ५० प्रतिशत कोटामा विद्यार्थी आरक्षणको समेत सरकारसँग माग गरिएको छ ।