काठमाडौँ, २१ पुस । नेकपा (एमाले)का संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ र प्रमुख सचेतकमा भानुभक्त ढकालल चयन हुनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सो पार्टीको संसदीय दलको बैठकले सर्वसम्मतरुपमा उहाँहरुलाई चयन गरेको सो दलका सचेतक गोकुल घर्तीले जानकारी दिनुभयो । गत महिना पार्टीको स्थायी कमिटीको सदस्यमा निर्वाचित हुनुभएका नेम्बाङलाई प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीको प्रस्तावमा उपनेता चयन गरिएको हो ।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय नाकामा जारी अघोषित नाकाबन्दी चाँडै सहज हुने बताउनुभयो । उहाँले नेपाल भूपरिवेष्टित मुलुक भएकाले पारवहन अधिकार पाउनुपर्नेमा जोड दिँदै भावी दिनमा अर्काे छिमेकी देशसँग पारवहन सम्झौता हुने जानकारी दिनुभयो । ओलीले मधेसी मोर्चासँगको वार्ता पनि चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।