गुम्दा (गोरखा), २४ पुस । सामुन्ने हिमाल देखिन्छ । बिहान, बेलुकीको स्याँठबाट बच्न टहराको चारैतर्फ चित्रोले बारिएको छ । आलु लगाउने मौसम भएकाले अस्थायी टहरो छाडेर पुरानै गाउँ, बस्तीमा भूकम्पपीडित फर्केका छन् ।
गुम्दा–६ का गोपाल गुरुङ पनि भर्खरै बारीबाट भत्किएको घर फर्कनुभयो । उहाँको परिवार अहिले सानोतिनो घर उभ्याउने तयारीमा जुटेका छन् । पुराना काठपात तह लगाउने काम भइरहेको छ । आँगनमा त्रिपालले छाएको सानो टहरो बनाइएको छ । नयाँ घर नबन्दासम्म त्यही गुरुङका परिवारले आश्रय लिन्छन् ।
एक कोठे टहरोमा कहाँ सुत्ने, कहाँ खाना पकाउने व्यवस्थापन गर्न गुरुङलाई हम्मेहम्मे परे पनि दुःखकष्ट सहेर बसेका छन् ।
बिहान, बेलुकीको तापक्रम शून्य डिग्रीमा झरेपनि घाम झुल्केपछि न्यानो हुन्छ । जमेर ढिक्का भएको पानी पनि पग्लन थाल्छन् । मुहान तातेपछि दिउँसोपख मात्रै धारामा पानी आउँछ । जमेका पानीका ढिक्का भाँडोमा तताएपछि मात्रै चिया, खाना पकाउन आवश्यक पानीको जोहो गरिन्छ ।
‘बिहानबेलुकी खपिनसक्नु चिसो छ’ गुरुङले भन्नुभयो, ‘घाम झुल्केपछि चिसो भाग्छ ।’ यसवर्ष हिउँ नपर्दा चिसो कम छ । हिउँ परिरहेको बेला न्यानो अनुभव भए पनि पर्न छाडेपछि ह्वात्तै चिसो बढ्छ । हिउँद्याम सुरु भएपछि एकपटक पनि पानी नपरेकाले हिउँ नपरेको स्थानीयवासी बताउँछन् । हिमालमा पनि हिउँ छैन । काला पत्थरले ढाँकिएको हिमाल कुरुप देखिन्छ ।
उत्तरी भेगमा बस्ने मानिस अहिले दुईवटा काममा व्यस्त छन् । मुख्य बालीअन्तर्गत आलु रोप्ने र चिसोबाट बच्न नयाँ घर बनाउने । आलु रोपेको छ महिनापछि मात्रै खन्नयोग्य हुन्छ । कम तापक्रमले गर्दा उत्तरी भेगमा वर्षमा दुईखेती मात्रै लाग्छ । छ महिनामात्रै खान पुग्ने खाद्यान्न उत्पादन भएपछि स्थानीयवासी मजदुरी, व्यापार गर्न बेसी झर्छन् ।
भूकम्पपछि बस्न अयोग्य ठहरिएका ठाउँमा अहिले धमाधम नयाँ घर बनेका छन् । गुम्दा ६, ७, ८ र ९ वडामा जताततै चिराचिरा परेको थियो । जमिन चर्केको देखेका भूगर्भविद्ले त्यसबेला बस्न अयोग्य भनेका ठाउँमा जमिन मिलिसकेको भन्दै स्थानीय बस्न सुरु गरेका हुन् ।
‘पहिले चिराचिरा परेको यो जमिन अहिले मिलिसक्यो’ गुम्दाका धनबहादुर गुरुङले भन्नुभयो, ‘सुरक्षित खोज्दै अन्यत्र बस्न जाउ भने आफ्नो नाउँमा जग्गा छैन । अर्काको बारीमा बस्न दिदैनन् । सरकारले पनि बस्ती सार्न सकेन ।’ गुम्दाकै सिङ्ला, यामगाउँ, लप्सीबोट पनि बस्न योग्य छैनन् । तर भूकम्पपीडित पुरानै जगमा नयाँ घर बनाइरहेका छन् । घर नहुँदा परिवारका सदस्य बिरामी परेपछि जसोतसो घर बनाउनुपरेको गुरुङको भनाइ छ ।
चिसोबाट जोगिन भूकम्पपीडितलाई न्यानो कपडाको अभाव देखिन्छ । सरकारले १० हजार बाँडेपनि नजिकै बजार नहुँदा त्यो रकम त्यसै गाउँमै छ । धेरैजसोले नुन, तेल किनेर त्यो रकम सकेका छन् । गैरसांसदहरुले पनि न्यानो कपडा बाँडेपनि त्यो पर्याप्त भने छैन । अर्काले दिएको न्यानोले चिसो नछेक्ने गुम्दाकी सुष्मा गुरुङले बताउनुभयो ।
टहरोको सट्टा घर बनाएर बसेमा आधाजसो चिसो हट्ने उहाँको अनुभव छ ।
विद्यार्थी आगो तापेर बस्छन् स्कुले उमेरका बालबालिका आगो तापेर बस्दा पठनपाठन क्रियाकलाप द्रुतगतिले अघि बढाउन नसकिएको शिक्षक बताउँछन् । स्थानीय सूर्योदय माविमा अध्ययनरत् विद्यार्थी चिसो बढेको दिन विद्यालय जादैनन् । कम सङ्ख्यामा मात्रै विद्यालयमा विद्यार्थी उपस्थित हुने गरेको शिक्षकहरुले बताए ।
विद्यालय पुगेका विद्यार्थी पनि घाममा बसेर चौरमा पढ्न रुचाउँछन् । गुम्दा–६ मा रहेको उक्त विद्यालयअन्तर्गतको शिशु स्याहार केन्द्रकी शिक्षक सुकमाया गुरुङले पढ्न आउने विद्यार्थीको सङ्ख्या चिसो बढेपछि घटेको बताउनुभयो । पढ्न पुगेका विद्यार्थी पनि घाम लाग्न छाडेपछि घर भाग्छन् । ‘विद्यार्थी भाग्न थालेपछि बेलुकीपख मात्रै हाजिर गर्ने गरेको छु’ गुरुङले भन्नुभयो ।
गुम्दामा मात्रै होइन, लाप्राक र बारपाकमा पनि यस्तो समस्या छ । पठनपाठनमा समस्या भएको भन्दै लाप्राकको मणिकामदेवी मावि १० दिनका लागि बन्द गरिएको छ । तुषारोले गर्दा बढेको चिसोले बारपाकको हिमालय उमाविमा पनि विद्यार्थीको सङ्ख्या कम भएको छ । विद्यार्थी घाम या आगो तापेर बस्दा पठनपाठनमा कमजोर देखिएका छन् ।
स्वीटर, ज्याकेटको अभावले गर्दा न्यानोका लागि बख्खु, पछ््यौरा र घामको भर पर्नुपरेको हिमालय उमावी बारपाकको कक्षा १० का विद्यार्थी देवेन्द्र घलेले बताउनुभयो ।
राहत सदरमुकाममा थुप्रियो
भूकम्पपीडितका लागि बाँड्न ल्याएको राहत सामग्री सदरमुकाममा थुप्रिएको छ । गुन्द्री १३ हजार एक सय थान, त्रिपाल ११ हजार एक सय ४८ थान, कम्बल एक हजार ४६ थान, गुणस्तरीय गुन्द्री ५५ थान, भान्छा सामग्री ५६ थानलगायत सामग्री स्टोरमै थुप्रिएको हो ।
त्यस्तै १२ हजार १२० केजी चामल पनि गोदाममा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
समितिले चिसोले अति प्रभावित क्षेत्रका भूकम्पपीडितलाई उक्त सामग्री वितरण गर्ने तयारी गरेको जनायो । केही दिनअघि बसेको बैठकले बाँकी राहत सामग्री आवश्यकता पहिचान गरी वितरण गर्ने निर्णय गरेको हो । भण्डारण कक्षमा न्यानो कपडा हुने पीडित चिसोले मर्ने समस्या देखिएपछि यस्तो निर्णय गरिएको हो ।
अनियमितता खोज्दै अख्तियार
राहत वितरणमा भएको अनियमिताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अख्तियारको केन्द्रीय टोलीका साथै क्षेत्रीय कार्यालय पोखराबाट आएको टोलीले त्रिपाल खरिदमा भएको अनियमिततादेखि राहत वितरणमा भए, गरेका अनियमितताबारे जानकारी लिएको छ ।
अख्तियारले गोरखा नगरपालिका, जिल्ला दैवीप्रकोप उद्धार समिति, गाविस, जिल्लास्थित विषयगत कार्यालयका फाइल अध्ययन गरिरहेको हो । विगत चार दिनदेखि अख्तियारको टोली जिल्लामै छ । राहत वितरणमा अनियमितता भएको भन्दै अख्तियारले छानबिन अघि बढाएको बुझिएको छ ।