दमासकस (सिरिया), २५ पुस । यसै महिनाको अन्त्यतिर जेनेभामा हुने भनिएको शान्ति वार्तामा बस्न सिरियाली सरकार तयार रहेको यहाँका विदेश मन्त्रीले शनिबार बताएका छन् ।
वार्तामा बस्नुअघि सरकारले वार्तामा संलग्न हुने समूहहरुको सूची मागेको र सरकार ‘आतङ्ककारी’ समूहसँग भने वार्ता नगर्ने बताएको छ ।
सिरियाको राज्य सञ्चालित समाचार संस्था सानाले सिरियाली विदेशमन्त्री वालिद अल–मौआलेमले उक्त विचार शनिबार भएको संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि स्टेफेन डे मिस्तुरासँगको भेटमा प्रकट गर्नुभएको हो ।
सिरियाली सरकारले राष्ट्रपति बसार अल असादलाई सत्ताबाट निकाल्न सङ्घर्षरत समूहलाई आतङ्कवादीको सूचीमा राख्दै आएको छ । सरकारले जेनेभा वार्ता आतङ्कवादविरुद्ध केन्द्रित रहनुपर्ने जनाउँदै आएको छ ।
त्यसैगरी, विपक्षी दलले भने असाद सत्ताबाट बाहिरिनुपर्ने सर्तलाई शान्ति वार्ताको मुख्य विषय बनाउनुपर्ने जनाउँदै आएका छन् ।
संयुक्त राष्ट्रसङ्घले दुवै समूहलाई जनवरी २५ मा जेनेभामा बोलाइएको शान्ति वार्तामा दुवै समूहलाई सहभागी भई देशमा गएको पाँच वर्षदेखि चल्दै आएको गृहयुद्ध अन्त्य गर्न आग्रह गरेको छ ।
सिरियामा जारी युद्धका कारण दुई लाख ५० हजार मानिसको मृत्यु भएको छ भने लाखौँको सङ्ख्यामा विस्थापित भएका छन् ।
यसअघि सन् २०१४ मा जेनेभामा गरिएको सम्मेलनले सिरिया समस्या हल गर्ने प्रयास गरे पनि दुई पक्षबीचका आ–आफ्नै अडानका कारण यसो हुन सकेको थिएन ।