काठमाडौँ, ३० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागलाई आगामी माघ ५ गतेभित्रै सम्बोधन गर्न प्रमुख तीन दलबीच समझदारी बनेको छ ।
आगामी माघ ५ गते बस्ने संसद् बैठकअघि नै आन्दोलनरत मोर्चाका मागलाई सम्बोधन गर्ने गरी लिखित सम्झौताका लागि तयारी गर्ने सहमति भएको तीन दलबीच आज भएको बैठकमा सहभागी नेताले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, सत्तारूढ दल नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का नेताहरुको बैठक बसेको हो । बैठकपछि प्रतिक्रिया दिँदै एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो, “मधेसी मोर्चासँग भइरहेको वार्तालाई छिट्टै निष्कर्षमा पुरयाउन गृहकार्यलाई तीव्र बनाउने योजनाअनुसार अब बस्ने कार्यदलको बैठकमा मधेसी मोर्चाका मागलाई सकारात्मक ढङ्गमा सम्बोधन गर्ने काम अगाडि बढाउनुपर्छ भन्नेबारे आज समझदारी भएको छ ।”
उपाध्यक्ष श्रेष्ठका अनुसार शुक्रबार बस्ने कार्यदलको बैठक र शनिबार बस्ने शीर्ष दलको बैठकमा मधेसी मोर्चाका मागलाई माघ ५ गते बस्ने संसद्को बैठक अगाडि नै टुङ्गो लाग्ने गरी छलफल गरिनेछ । काँग्रेस नेता महेश आचार्यले संविधान संशोधन, सीमाङ्कन, नागरिकता, समावेशीतालगायतका विषयलाई शुक्रबार बस्ने कार्यदल बैठकमा सकारात्मक ढङ्गबाट राख्नेबारे सहमति भएको जानकारी दिनुभयो ।