काठमाडौँ, ३० पुस । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) एसिया तथा प्रशान्त क्षेत्रका मुलुक समूह (एस्पेक) को अध्यक्षता पहिलो पटक नेपालले गर्न पाएको छ ।
सन् १९५३ मा युनेस्कोको सदस्यता लिएयता नेपालले सन् २०१६ वर्षको एसिया प्रशान्त क्षेत्रका मुलुक समूहको अध्यक्षता प्राप्त गरेको फ्रान्सका लागि नेपाली दूतावासले जनाएको छ । एस्पेकको यस वर्षको पहिलो बैठकपछि पेरिसमा आयोजित विशेष समारोहमा युनेस्कोको सो समूहको निवर्तमान अध्यक्ष रहेको चीनका स्थायी प्रतिनिधि, राजदूत झाङ सिक्यिनले युनेस्कोका नेपाल स्थायी प्रतिनिधि, राजदूत अम्बिकादेवी लुइँटेललाई हस्तान्तरण गर्नुभयो ।
समारोहमा एस्पेकको अध्यक्षता प्राप्तिपछि राजदूत लुइँटेलले इमान्दारीका साथ नेपालले सबै सदस्यको विश्वास लिएर अघि बढ्ने बताउनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उहाँले युनेस्कोको सचिवालय र एस्पेक समूहका सदस्यबीच अझ सहयोग बढाउनुपर्ने बताउनुभएको जनाइएको छ । उहाँले एस्पेक क्षेत्रीय समूह युनेस्कोका लागि जनसङ्ख्या, प्राकृतिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण छ भन्नुभयो ।