काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका सिके (चन्द्रकान्त) राउतलाई आज सफाइ दिएको छ ।
न्यायाधीश वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका राउतलाई कुनै पनि प्रमाण नदेखिएको भन्दै सफाइ दिएको हो ।
प्रहरीले राउतलाई सन्थाल जातिको एक कार्यक्रममा मधेसलाई टुक्र्याउनुपर्ने भाषण गरेको आरोपमा पक्राउ गरी राज्यविरुद्धको अपराधमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
देश टुक्र्याउने खालको कुनै पनि अभिव्यक्ति दिएको नदेखिएको भन्दै यसअघि विशेष अदालतले राउतलाई सफाइ दिएको थियो । विशेष अदालतको सो फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्ने आरोपमा कुनै पनि प्रमाण नदेखिएको भन्दै सर्वोच्चले आज सफाइ दिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरेको जानकारी दिनुभयो ।