लण्डन, २२ माघ । चीनले सिरियाली शरणार्थीका लागि १० हजार टन खाद्यान्न सहयोग गर्ने समाचार छ । चिनियाँ विदेशमन्त्री वाङ् यीले बिहीबार सो घोषणा गर्नु भएको हो ।
सिरियाको समर्थनमा लण्डनमा भएको क्षेत्रीय सम्मेलनमा वाङ्ले उक्त घोषणा गर्नुभएको हो ।
सिरियामा जारी मानवीय समस्या समाधानको लागि आपत्कालीन सहयोगले मात्र नभएर भोकमरी समस्याको पनि समाधान गर्नुपर्ने उहाँले बताउनु भएको छ ।
चिनियाँ विदेशमन्त्रीले चीनले विभिन्न च्यानलबाट सिरियामा मानवीय सहयोग गर्ने बताउनु भएको हो ।
गत बर्ष भएको जी२० को सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले सिरियाली शरणार्थी र विस्थापित व्यक्तिहरुको लागि थप १ करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।
गत महिना राष्ट्रपति सी मध्यपूर्वी राष्ट्रको भ्रमणमा रहदा पनि सिरिया, जोर्डन, लेबनान, लिबिया र यमनमा रहेका सिरियाली शरणार्थीको लागि थप २ करोड ३० लाख युआनको मानवीय सहयोग सिरियालाई गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको बताउनु भएको छ ।
चीनले थप १० हजार टन खाद्यान्न सिरियाली शरणार्थीलाई दिने घोषणा गरेको छ । चीनले सिरियाली शरणार्थीको लागि लगातार सहयोग गरिरहने वाङ्ले बिहीबार प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
लण्डनमा सिरियाको समर्थनमा बिहीबार जारी रहेको सम्मेलनको क्रममा बेलयात, जर्मनी, कुवेत, नर्वे र संयुक्त राष्ट्रसङ्घले पनि सिरियाली शरणार्थीलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर भएको छ ।
सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि दुई लाख ६० हजार नागरिकको ज्यान गएको छ ।
सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारविहीन वा शरणार्थी भएका छन् । छिमेकी देशहरुमा सिरियाली लाखौँ नागरिक शरणार्थीका रुपमा रहेका छन् ।