काठमाडौँ, १० फागुन । तेइस वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ ।
एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएका हुन् । यो कुनै प्रतिबन्ध भने होइन ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्नेछैन भने एएफसी र फिफाको अन्तर्राष्ट्रिय खेल तालिकाभित्र नेपाल पर्ने नहुँदा पनि नेपालले सहभागिता नजनाउने भएको हो ।
नेपाली टोलीले गत वर्ष भएको विश्वकपमा छनोट हुन नसकेपछि करिब दुई वर्षसम्मको लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको हो । अहिलेसम्मको खेल तालिका हेर्दा बाह्रौँ संस्करणको साफ च्याम्पियनसिपबाहेक नेपालले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने छैन । प्रत्येक दुई–दुई वर्षमा हुने उक्त साफ च्यापियनसिपको एघारौँ संस्करण यसै वर्ष भारतमा सम्पन्न भएको थियो ।
त्यतिबेलाको साफमा नेपालले लज्जास्पद हार बेहोर्दै घर फकिएको थियो । बाह्राँै संस्करणको साफ च्याम्पियनसिप भने सन् २०१७ को अन्तिममा बङ्गलादेशमा हुनेछ, त्यो नै नेपालको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । तर अर्को वर्ष बङ्गलादेशमा नै हुने बङ्गबन्धु गोल्डकपमा भने साबिक विजेताका रुपमा नेपाललाई बोलाउन सक्ने सम्भावना भने प्रबल छ । गत माघमा बङ्गलादेशमा भएको बङ्बन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले उपाधि हासिल गरेको थियो ।
त्यस्तै भारतमा भएको बाह्राँै दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २३ वर्षपछि स्वर्णपदक भित्र्याएको थियो । नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउँदा घरेलु फुटबल प्रतियोगितामा नै चित्त बुझाउन बाध्य हुनेछ ।
अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि राष्ट्रिय टोलीलाई फुटबल खेलमा संलग्न बनाइराख्न विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँले आज रासससँग कुरा गर्दै भन्नुभयो, “फुटबल खेल अहिले फस्टाइरहेको छ अझ यसलाई व्यवस्थापन गर्नका लागि जापानी प्रशिक्षकसँग कुरा गरिरहेका छौँ ।” राष्ट्रिय सिनियर टिममा अहिले प्रशिक्षकको सिट खाली छ । अध्यक्ष श्रेष्ठले आगामी मार्चमा मैत्रीपूर्ण फुटबलका लागि मलेसियासँग समेत कुरा भइरहेको जानकारी दिनुभयो ।