पोखरा, १२ फागुन । पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्वतीय पर्यटनको अध्ययन गर्ने अध्येताका लागि एसियाकै आकर्षणको केन्द्र बन्दै गएको छ ।
नेपाल पर्वतारोहण सङ्घको रु ११ करोड ३० लाख ४८ हजार ८५० को लागतमा एक सय रोपनीमा फैलिएको परिसरको करिब छ रोपनी आठ आना क्षेत्रफलमा निर्माण सम्पन्न भई २०६१ साल माघदेखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट विभिन्न अध्येता अध्ययन तथा अनुसन्धानका साथै साहसिक पर्यटकीय खेल र मनोरञ्जनको भरपुर आनन्द लिनका लागि आउने गरेका छन् ।
पर्वतीय पर्यटनका विभिन्न विषयको प्रत्यक्ष जानकारी गराउने किसिमले सङ्ग्रहालयमा धेरै पक्ष समेट्ने प्रयास गरिएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार हिमालै हिमालको देशका रुपमा परिचित नेपालमा आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार ५०० देखि सात हजार ९९९ सम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कुल एक हजार ९१३ वटा हिमचुचुरा रहेको र तिनीहरूको जानकारी एकै ठाउँबाट लिन सक्ने गरी सङ्ग्रहालयमा व्यवस्था गरिएको छ ।
“एउटै छानामुनि विश्वका उच्च हिमाली शृङ्खलाको सङ्ग्रहालयमा जानकारी लिन सकिन्छ”, उहाँले भन्नुभयो – “हाल फोटोहरू प्रदर्शन गरिएकामा निकट भविष्यमा नै आठ हजार मिटरभन्दा माथिका सबै हिम शृङ्खलाको आकार आउने गरी नमुना तयार गरिने छ ।”
सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई रु ४० र सर्वसाधारण नेपालीका लागि रु ८० शुल्क लाग्ने व्यवस्था गरिएको छ भने सार्कअन्तर्गतका पर्यटकलाई रु २०० र अन्य विदेशीका लागि रु ४०० अवलोकन शुल्क निर्धारण गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष एवम् सङ्ग्रहालयका संयोजक सन्तवीर लामाले बताउनुभयो ।
लामाका अनुसार सङ्ग्रहालयमा हालसम्म १२ लाख ३५ हजार ४४० जनाले टिकट काटेर अवलोकन गर्दा रु १० करोड चार लाख १७ हजार २८ आम्दानी भएको छ ।
विश्वका मान्यता प्राप्त आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा हिम शिखरमध्ये आठ हजार ८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथासहित आठवटा हिमाल नेपालमा पर्दछन् ।
नेपालमा पर्ने अन्य हिमालमा आठ हजार ५०६ मिटर कञ्चनजङ्घा, आठ हजार ५१६ मिटर लोप्से, आठ हजार ४८५ मिटर मकालु, आठ हजार २०२ मिटर चोयु, आठ हजार १६७ धौलागिरि, आठ हजार १६३ मनास्लु र आरोहण इतिहासको अग्रणी हिमाल अन्नपूर्ण आठ हजार ९१ मिटर अग्ला रहेका छन् ।
सरकारद्वारा गठित पिक प्रोफाइल सवकमिटीका संयोजकसमेत रहनुभएका आङछिरिङ शेर्पाका अनुसार आठ हजार ५०५ मिटर योलुङकाँङ, आठ हजार ४७६ मिटर कञ्चनजङ्घा साउथ, आठ हजार ४७६ मिटर कञ्चनजङ्घा सेन्टर, आठ हजार ४१३ मिटर लोत्से सार र आठ हजारभन्दा माथिको एउटामात्र भर्जिन हिमाल आठ हजार ७७ मिटरको हेलुङखाँङ वयस्टसहित नेपालका थप छवटा हिमशृङ्खलाले निकट भविष्यमा मान्यता प्राप्त गर्नेछन् ।
सङ्ग्रहालयमा पर्वतारोहण, पदयात्री, स्किइङ, सिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवम् ऐतिहासिक पक्षहरुको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले बताउनुभयो ।
सङ्ग्रहालयमा विश्वकै अग्लो सगरमाथाको चुचुरो र गहिरो इजरायलको डेडसीबाट ल्याइएको चट्टानसमेत अवलोकन गर्न पाइनुले यो स्थान आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण माध्यम भएको छ ।
अपाङ्गमैत्री उक्त सङ्ग्रहालयमा पर्वतीय मानिस, पर्वत तथा विविध पर्वतीय क्रियाकलाप तथा सहयोगी र सामाजिक गरी चार कक्षमा १२ उपकक्ष रहेको कार्यालय प्रमुख बलप्रसाद राईले बताउनुभयो ।
एसियाकै नमुनाका रुपमा रहेको सङ्ग्रहालयमा भारत, पाकिस्तान, चीन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, कोरियालगायतका विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्री प्रदर्शन गरिएको छ ।
राईका अनुसार विश्वशान्तिको कामनाका साथ विभिन्न मुलुकका ख्यातिप्राप्त हिमाल आरोही, शुभचिन्तक, शुभेच्छुकसहित जापानको हिरोसिमामा सम्पन्न विश्व सम्मेलनमा हिमाल र हिमाली क्षेत्रको सुधारका लागि गरिएको सामूहिक प्रतिबद्धतासहितको हस्ताक्षरसमेत सङ्ग्रहालयमा प्रदर्शन गरिएको छ ।
सङ्ग्रहालयको बाहिरी क्षेत्रमा पर्वतीय सङ्ग्रहालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने दाबानोर्बु शेर्पा, डा हर्क गुरुङ र कुमार खड्गविक्रम शाहको अर्धकदको शालिक निर्माण गरिनुका साथै मनोरम मनास्लु हिमालको मोडल तथा कृत्रिम क्लाइमिङ वालसमेत निर्माण गरिएको छ ।
सङ्ग्रहालयमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । हालसम्म विद्यार्थी पाँच लाख ९० हजार ८५२, नेपाली सर्वसाधारण तीन लाख ८१ हजार ९६७, सार्क राष्ट्रबाट ९२ हजार ६६९, अन्य बाह्य एक लाख ६० हजार ४२५ जनाले अवलोकन गरिसकेका छन् । सङ्ग्रहालय परिसर बाहिरमात्र घुम्ने प्रयोजनका लागि १० हजार ६४ जनाले हालसम्म टिकट काटेका छन् भने ६४ हजार ७० जना विशेष अतिथिले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
पछिल्लो समयमा विभिन्न शैक्षिक संस्थाबाट पर्वतीय पर्यटनको अध्ययनका लागि स्वदेशी एवम् विदेशी विद्यार्थी आउने क्रम बढेको सङ्ग्रहालयले जनाएको छ ।