काठमाडौँ, १९ फागुन । साहित्यकार भद्रकुमारी घलेले एक वर्षमा तयार पारेका ५१ वटा कृतिको एकैपटक लोकार्पण भएको छ ।
उहाँको ८५ औँ जन्मोत्सवको अवसर पारेर आज यहाँ आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, प्राज्ञ डा जगमान गुरुङलगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
हरेक कुरालाई समेट्न सकेको उहाँका कृतिमा बढी कविता र निबन्ध छन् । यसमा ‘जीवन र कला’, ‘लिन सकौँ दिन सकौँ’, ‘बुढ्यौलीको गन्थन’, ‘गुरुङको इतिहास’, ‘वृद्धबोध’, ‘भूकम्प र नेपाल’लगायत छन् ।
‘जीवन र कला’ नामक चित्रकलासहितको पुस्तकलाई अङ्गेजी रुपान्तरण गर्दै ‘आर्ट एन्ड लाइफ’को रुपमा प्रकाशित गरिएको छ । यसलाई राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो । यो घलेको पहिलो अङ्ग्रेजी कृति हो ।
सञ्चारमन्त्री राईले समाजसेवीको रुपमा घलेले गरेको योगदान अतुलनीय रहेको बताउँदै उहाँको संस्था ‘भद्रकुमारी घले सेवा सदन’लाई सहयोग गर्ने वचन दिनुभयो ।
उहाँले घलेले संस्थामार्फत एसियाकै पहिलो वृद्धवृद्धाका लागि नेपालमा अस्पताल निर्माण गर्न चाहेको प्रस्तावलाई स्वीकृत गर्दै त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने वचन दिनुभयो । उहाँले भन्नुभयो, “उहाँको घोषित लक्ष्य पूरा गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।”
साहित्यकार घले आफ्नो संस्थाले पिछडिएका जाति, वर्ग, समुदाय तथा आर्थिकरुपमा कमजोर समूहलाई संस्थामार्फत निःस्वार्थ सेवा गर्दैआएको र अब अस्पताल खोलेर सहयोग गर्न चाहेको बताउनुभयो ।
प्राज्ञ डा गुरुङले घले महिला सशक्तीकरणको अगुवा हुँदै राष्ट्रको धरोहर बन्न सफल भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा समालोचक रामप्रसाद पन्तले घलेका कविता तथा प्रा गोपीकृष्ण शर्माले निबन्धका बारेमा टिप्पणी गर्नुभएको थियो । एकै वर्षमा ५१ कृति लेख्नु चानचुने नभएको टिप्पणी उहाँहरुको थियो ।