काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलको जन्म २००१ साल असोजमा तनहुँ जिल्लाको रिस्ती गाविसमा भएको थियो ।
त्रिविबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गर्नुभएका पौडेलका समसामयिक राजनीतिसम्बन्धी पुस्तक प्रकाशन भएका छन् । उहाँका ‘प्रजातान्त्रिक समाजवाद ः एक अध्ययन’ २०४६, ‘नेपाली काँग्रेस के भन्छ ?’ २०४८ र ‘नयाँ सन्दर्भमा समाजवाद’ २०५२ कृति लगायत समकालीन राजनीति र मानवअधिकारसँग सम्बद्ध विभिन्न लेख प्रकाशित छन् ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरिएपछि १६ वर्षको उमेरदेखि पौडेल प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा प्रवेश गर्नुभएको हो ।
नेपाली काँग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा पौडेल सहभागी हुनुभएको थियो । विसं २०१९ को स्वतन्त्र विद्यार्थी आन्दोलनमा अभियानकर्मीका रुपमा उहाँले भूमिका निर्वाह गर्नुभयो । विसं २०२३ मा सरस्वती कलेज विद्यार्थी युनियनको सभापति निर्वाचित हुनुभएका पौडेलले सोही वर्ष संस्थापक सभापति भई गण्डकी विद्यार्थी समितिको स्थापनामा नेतृत्व लिनुभएको थियो ।
विसं २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव हुनुभएका पौडेलले २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापनामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । नेपाली काँग्रेस तनहुँ जिल्ला कार्य समितिका सदस्य पदमा २०३४ सालमा निर्वाचित हुनुभएका पौडेल २०३६ सालमा जिल्ला उपसभापति र जनमतसङ्ग्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष भएर बहुदलका पक्षमा जनमत निर्माणमा योगदान पुरयाउनुयो । २०४० सालमा काँग्रेस केन्द्रीय प्रचार समितिको संयोजक र २०४४ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो ।
पञ्चायत व्यवस्थाविरुद्ध ३० वर्ष सङ्घर्ष गरी २०४६ सालमा प्रजातन्त्र स्थापनापछि २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट संसद् सदस्यमा निर्वाचित हुनुभएको थियो । संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा स्थानीय विकासमन्त्रीको कार्यभार सम्हाल्नुभएका नेता पौडेलले २०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारीसमेत लिनुभयो ।
विसं २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट संसद् सदस्यमा निर्वाचित भएपछि उहाँले पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गर्नुभयो । विसं २०५६ को संसदीय निर्वाचनमा पुनः तनहुँ क्षेत्र नं २ बाट सांसद बन्नुभएका नेता पौडेलले २०५७ सालमा उपप्रधानमन्त्री, गृह एवम् सञ्चारमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो ।
विसं २०६२ मा काँग्रेसको महामन्त्री हुनुभएका नेता पौडेलले २०६३ सालमा पुनःस्थासपत संसद्को सदस्य भई तत्कालीन नेकपा (माओवादी)लाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण योगदान पुरयाउनाका साथै शान्ति सचिवालयको संयोजकको भूमिका निर्वाह गर्नुभयो ।
माओवादी समेत संलग्न भई २०६३ सालमा गठन भएको सरकारमा नवगठित शान्ति तथा पुनःनिर्माण मन्त्रालयको पहिलो नेतृत्व पनि नेता पौडेलले नै सम्हाल्नुभयो । विसं २०६४ मा काँग्रेस उपसभापति हुनुभएका नेता पौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाटै चौथो पटक सभासद्मा निर्वाचित हुनुभयो । विसं २०६५ मा काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएका पौडेल २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँ २ नं क्षेत्रबाटै पाँचौँ पटक सभासद्मा निर्वाचित हुनुभयो ।
निरङ्कुश राजतन्त्रविरुद्ध लड्ने क्रममा २०१९ देखि २०४६ सालसम्म पटक पटक गरी १३ वर्ष राजनीतिक बन्दीका रुपमा कारागार बस्नुभयो । स्वतन्त्रता र प्रजातन्त्रबाट मात्रै जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्छ भन्ने वैचारिक मान्यता राख्ने कावा सभापति पौडेल जनएकता भए मात्र समृद्ध मुलुक निर्माण गर्न सकिन्छ भन्ने विश्वास राख्नुहुन्छ । न्यूनतम आधारभूत आवश्यकताका सामग्रीबाट वञ्चित तथा गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने पनि उहाँको मान्यता छ ।