काठमाडौँ, ३० फागुन । एकीकृत नेकपा(माओवादी)का सांसद् ल्हारक्याल लामा आज पक्राउ परेका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले छानविनका लागि लामाको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैङ्कको लकरमा जाँच गर्दा बन्दुकको गोली बरामद भएपछि उहाँ पक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता कृष्णहरी पुष्करका अनुसार अनुसन्धानका लागि आयोगले सांसद् लामालाई इन्भेष्टमेन्ट बैङ्कमा लगेको र सो क्रममा उहाँको लकरबाट १४ थान गोली भेटिएको जानकारी दिनुभयो ।
लामालाई अवैध हातहतियार तथा खरखजना ऐन २०१९ अनुरुप पक्राउ गरी कारवाहीका लागि दरबार मार्गस्थित प्रहरी प्रभागमा बुझाईएको उहाँले बताउनुभयो ।