लहान, ३० फागुन । पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सीमाङ्कनको हेरफेर गरेर भए पनि मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न आफू तयार रहेको बताउनुभएको छ ।
जिल्ला विकास समितिको २३औँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले आफू मधेसी विरोधी नभएको र प्रदेशको सीमाङ्कनको माग हेरफेर गरेर भए पनि मधेशी जनता उठाएको जायज माग पूरा गर्न आफू तयार रहेको बताउनुभयो ।
अहिलेको संविधानले तराई मधेस, हिमाल, पहाड कसैलाई पनि विभेद नगरी सबैलाई समान अधिकार संविधानमा समावेश गरिएको बताउनुहुँदै उहाँले नागरिकताको समस्या अहिलेको संविधानले पूरा गरेको उल्लेख गर्नुभयो ।
वर्तमान सरकारले नै अगामी चुनाव गराउने भएकाले अहिले नै सरकार ढल्ने कुनै सम्भावना नरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले एउटै देशमाथिको निर्भरता हटाएर व्यापारमा विविधीकरणका लागि फलदायी बनाउने विश्वास व्यक्त गर्नुहुँदै अध्यक्ष दाहालले प्रधानमन्त्रीको चीन भ्रमण बारे सरकारमा रहेका प्रमुख पार्टीको शीर्ष तहमा छलफल भएको बताउनुभयो ।
सिरहाका स्थानीय विकास अधिकारी टुवराज पोखरेलले आव २०७२, ७३ को लागि करिब रु पाँच अर्बको बजेट प्रस्तुत गर्नुभएको थियो । परिषद्मा पूर्वमन्त्री, सभासद्, राजनीतिक दलका प्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
दाहाललाई कालो झण्डा देखाउने पक्राउ
नगर परिषद्मा सहभागी हुन आउनुभएका एमाओवादी अध्यक्ष दाहालविरुद्ध मधेसी मोर्चाका कार्यकर्ताले नाराबाजी गर्दैै कालोझण्डा देखाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालविरुद्ध कार्यक्रमस्थलमै मोर्चाका नेता कार्यकर्ताले प्रदर्शन गरेपछि केहीबेर सो क्षेत्र तनाबग्रस्त बनेको थियो ।
सो क्रममा प्रहरीले सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री राजलाल यादवसहित पाँच जनालाई पक्राउ गरेको थियो ।