पोखरा, २ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा हिजोदेखि पोखरामा जारी कार्यक्रम समितिको ५२ औँ बैठक भोलि हुने स्थायी समितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदन अनुमोदन गर्दै आज सम्पन्न भयो ।
आठ वटै सदस्य मुलुकका परराष्ट्र बाह्य मामिला मन्त्रालयमा सार्क विभाग प्रमुख सम्मिलित उक्त बैठकमा दक्षिण एसियाली विश्वविद्यालय, सार्क विकास कोष, सार्क मध्यस्थता परिषद्लगायत सार्कका विशिष्टिकृत निकायबारे छलफल भयो ।
कृषिसँग सम्बन्धित विविध विषयका साथै बीउबिजन बैंक, पशु चिकित्सा र परियोनमा आधारित सहयोगबारे कार्यक्रम समितिमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवम् परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन विभाग प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आतङ्कवाद, लागू औषध, सूचना तथा सञ्चार, सार्कका क्षेत्रीय निकायहरूको प्रशासनिक एवम् वित्तीय व्यवस्थापन, सन् २०१६ का लागि सार्क ऊर्जा केन्द्रका गतिविधि, सदस्य मुलुकमा क्षेत्रगत सहयोग प्रवद्र्धन गर्न क्षेत्रीय योजना परिषद् स्थापना र सार्कका कार्यक्रम र समयसारिणीको समीक्षा बैठकमा भएको उहाँले बताउनुभयो ।
बैठकले दक्षिण एसियाली विश्वविद्यालयलाई स्नातक तहमुनिका यथासंभव शीघ्र सञ्चालन गर्न र त्यसमा विद्यार्थी र अध्यापकको क्षेत्रीय एवम् प्रतिनिधित्व सुनिश्चित गर्ने विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी दिँदै उहाँले त्यससम्बन्धी सिफारिस बुधबार हुने परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका सचिवहरु सम्मिलित स्थायी समिति बैठकमा गरिएको बताउनुभयो ।
त्यसैगरी बैठकले सार्क देशका राष्ट्रिय टेलिभिज, रेडियो र समाचार समिति(एचटिआरएन)का प्रमुख सम्मिलित एवम् सार्क श्रव्यदृश्य आदानप्रदान कार्यक्रम (सेभ)को पुनर्नामकरण एवम् एकीकृत गरी त्यसलाई ‘सूचना तथा सञ्चार कार्यदल‘ बनाउने बैठकले सिफारिस गरेको छ ।
सार्क योजना परिषद्का बारेमा कार्यक्रम समितिको अर्को बैठकमा छलफल गर्ने निर्णय भएको सहसचिव भट्टराईले बतायनुभयो ।
बुधबार हुने स्थायी समितिको ४२ औँ बैठकमा भाग लिन सदस्य राष्ट्रका परराष्ट्र बाह्य मामिला मन्त्रालयका सचिव आज अपराह्न पोखरा आइपुग्नुभयो ।
आफ्ना समकक्षीहरुलाई पोखरा विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा सार्क सचिवालयका वरिष्ठ अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।