नेपाल राष्ट्र बैंक र गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नेपाल राष्ट्र बैंकले पहिलो पटक निष्काशन गरेको लौहपुरुष गणेशमान सिंहकोे तस्बिर अङ्कित सिक्का शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ५ चैत । नेपाल राष्ट्र बैंकले राजनेताको तस्बिर अङ्कित सिक्का पहिलो पटक निष्काशन गरेको छ ।
गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नेपाल राष्ट्र बैंकले लौहपुरुष गणेशमान सिंहको तस्बिर अङ्कित चाँदीको सिक्का पहिलो पटक निष्काशन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंक र गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा आज राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उक्त सिक्का सार्वजनिक गर्नुभयो ।
डा नेपालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको ठूलो भूमिका रहेको भन्दै उहाँको योगदानलाई कदर गर्दै सिक्का निकाल्न पाउँदा राष्ट्र बैंक खुसी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – “यो सिक्काले स्वर्गीय सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”
फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले जनताका लागि सङ्घर्ष गर्ने व्यक्ति सिंह भएको भन्दै उहाँको योगदानलाई कसैले भुल्न नहुने स्पष्ट पार्नुभयो । सिंहले भन्नुभयो – “इतिहासलाई प्रजातान्त्रिक पद्धतिमा हिँडाउने र जनताका हक अधिकारका लागि कसैसँग सम्झौता नगर्ने व्यक्ति सिंह हुनुहुन्छ ।”
उहाँले सर्वोच्च नेता सिंहजस्तो दुःख कष्ट खेपेर प्रजातन्त्रका लागि लडेको व्यक्ति नेपाली राजनीतिमा भेटाउन गाह्रो पर्ने उल्लेख गर्नुभयो ।
सिंहको सम्झनामा निष्कासन गरिएको सो सिक्का ९९ प्रतिशत शुद्ध धातु, ७७ मिलिमिटर गोलाइ, २५ ग्राम तौल रहेको छ । यसको बिक्र वितरण टक्सार विभाग सुन्धाराबाट गरिने र यसको मूल्य रु दुई हजार ७६ पर्ने फाउन्डेसनले जनाएको छ ।