पोखरा, ९ चैत । बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिडसँगको प्रत्यक्ष भलाकुसारीबाट अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गर्ने गोर्खा सैनिकका परिवारजन हर्षित भएका छन् ।
लामाचौरस्थित ‘गोर्खा ब्रिटिस क्याम्प’ पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ह्यारीले गोर्खा सैनिकका परिवाजनसँग भलाकुसारी गर्नुभएको थियो ।
अफगानिस्तानको युद्धमा आफ्नो छोरा गुमाएकी उदयपुरकी रेनुका राईले राजकुमार ह्यारीसँग प्रत्यक्ष भेट्न पाउँदा आफू निकै हर्षित बनेको बताउनुभयो । अफगानिस्तानको युद्धमा आफ्नो छोरा रेमन्द खुलुन्द राईको ज्यान गुमाएको बताउँदै उहाँले ह्यारीसँगको भेटमा आफूले सो कुरा अवगत गराउनुभएको थियो ।
“छोराको मृत्युपछि बुहारी अर्कैसँग विवाह गरेका कारण आफ्नो छोराले पाएको ‘मेडल’ आमाका नाताले आफूले नै राख्न पाउनुपर्ने र निवृत्तिभरणको अधिकार पनि आफूले पाउनुपर्ने जस्ता विषयमा बिन्तीपत्र चढाएको छु,” राईले भन्नुभयो ।
अफगान युद्धमा ज्यान गुमाएका खोटाङ निवासी युवराज राईका ७५ वर्षीय खड्गबहादुर राई पनि ह्यारीसँग प्रत्यक्ष भेट गर्न पाउँदा निकै खुसी भए । बेलायती सेनामा भर्ना भएको आठ वर्षमा युद्धमा ज्यान गुमाएका राईको ७२ वर्षीय आमा इन्द्रदेवी राईले पनि ह्यारीसँग भेटेर सन्तोष मान्नुभयो ।
भेटमा राजकुमार ह्यारीले गोर्खा सैनिकका परिवारका सदस्यको दिनचर्यालगायत विषयमा चासो दिएर जानकारी लिनुभएको थियो ।
अफगानिस्तानमा ११ गोर्खा सैनिकले वीरगति प्राप्त गरेका थिए । वीरगति प्राप्त गर्नेमा युवराज राई, कृष्णप्रसाद दुरा, कुमार पुन, अर्जुन पुन, रेमन्द खुलुङ, ईश्वर गुरुङ, सुरज गुरुङ, सुरज लिम्वु, सचिन लिम्वु, गजेन्द्र गुरुङ र सिद्धार्थ गुरुङ थिए ।
ह्यारीलाई भेट्ने ९३ वर्षीय कर्णेल जेपी क्रसले ३५ वर्ष अघि ह्यारीका बुबाको नेपाल भ्रमणको ‘कमाण्डिङ’ गरेको स्मरण गर्दै साढे तीन दशकपछि राजकुमारलाई भेट्न पाउँदा आफूलाई खुसी लागेको सुनाउनुभयो ।
आफूले लेखेको एक पुस्तक राजकुमार ह्यारीलाई दिनसमेत भ्याएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ह्यारी त अग्लो र ठूलो जीउको हुनुहुँदो रहेछ ।”
ह्यारीलाई भेट्नुभएका रेजिमेन्टल एसोसिएसन नेपालका अध्यक्ष कास्कीका सेनानी भीमबहादुर गुरुङले एसोसिएसनका तर्फबाट आफूहरुले ह्यारीलाई भेट्ने अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजकुमार आफै अफगानिस्तानमा बस्दा गोर्खालीसँग निकै नजिक हुनुहुन्थ्यो ।”
एसोसिएसनका महासचिव बालकृष्ण रानाले अफगानिस्तान र इराकको ‘अपे्रसन ह्यारिक’मा वीरगति प्राप्त गर्ने गोर्खा सैनिकका आफन्तलाई सहानुभूति प्रकट गर्न र वीर गोर्खा सैनिकको सम्मानका लागि ह्यारी पोखरा आउनुभएको जानकारी दिनुभयो ।
रानाले भन्नुभयो, “ह्यारी गोर्खालीको वीरता र कुशलताबाट निकै प्रभावित हुनुभयो ।” पोखरा विमानस्थल झर्नुभएका ह्यारीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायत अधिकारीले स्वागत गर्नुभएको थियो ।
ह्यारी आउने खबर सुनेका धेरै स्थानीयवासीले पोखरा विमानस्थलबाट बिट्रिस क्याम्पसम्म जाँदा ‘हाई ह्यारी’ भन्दै स्वागत गरिरहेका थिए भने फर्कदा ‘वाई ह्यारी’ भन्दै हात हल्लाएका थिए ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आउनुभएका ह्यारीको नेपाल भ्रमण भएको हो ।