गोरखा, १५ चैत । भूकम्पले ध्वस्त बनाएको मनास्लु पदमार्गअन्तर्गत उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभात किरण माध्यामिक विद्यालयको ११ कोठे भवन पुनःनिर्माणमा सघाएर बेलायतका राजकुमार ह्यारी आज काठमाडौँ फर्किने कार्यक्रम छ ।
गत बिहीबार लापु पुगेका राजुकुमार ह्यारीले शुक्रबारदेखि विद्यालय भवन निर्माण गर्न ढुङ्गा र काठ बोकेका थिए । ह्यारीले चार दिनसम्म निरन्तर काम गरेको स्थानीयवासीले बताए । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत आज राजधानी फर्किने कार्यक्रम रहेको एक स्थानीयवासीले टेलिफोनमा बताएका छन् ।
“ह्यारी बस्दै आएको लापु गेष्ट हाउसमा स्कुल बनाउन सघाएका ह्यारीलाई धन्यवाद र बधाइ दिने कार्यक्रम छ”, स्थानीय एक होटल सञ्भालकले भनिन् – “पाहुनाहरु हेलिकप्टरबाट फर्कन्छन् ।” ह्यारीले विद्यालयका साथै भूकम्पले अवरुद्ध नौलीखोला तेस्रो लघुजलविद्युत् पनि अवलोकन गर्नुका साथै मर्मतमा सहयोग गरेका थिए ।
राजकुमार ह्यारीको भ्रमणलाई व्यक्तिगत भन्दै स्थानीय र विद्यालय निर्माण गरिरहेको ‘टिम रुबिकेन युके’ नामक संस्थामा आबद्ध युवायुवतीले गोप्य राखेका थिए ।
ह्यारी लापुबेँसीमा रहेकोबारे समाचार आएपछि मात्रै गाउँमा ह्यारी आएको स्थानीयवासीले थाहा पाएका हुन् ।
ह्यारीको नेपाल बसाइँ मङ्गलबार सकिँदैछ । उनले छ दिन अनौपचारिक रुपमा पुनःनिर्माणमा जुट्ने भन्दै बसाइँ थप गरेका थिए ।
विगत चार दिनदेखि बिद्यालय भवन पुनर्निर्माणमा सघाउन गोरखाको लापुवेशीमा बस्दै आएका बेलायतका राजकुमार ह्यारी प्रभातकिरण माध्यामिक बिद्यालयका शिक्षक एवं बिद्यार्थीसंग सोमबार सामुहिक फोटो खिचाउँदै । तस्बिर सौजन्य ः जीव गुरुङ्ग