काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनमा विद्युतीय मतदान हुने भएको छ ।
बुधबार हुने मतदानमा विद्युतीय मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो । उहाँले निर्वाचन समितिको निर्णयलाई नेताहरुले पनि स्वीकार गरेको बताउनुभयो ।
बिहान ११ देखि २ बजेसम्ममा मतदान सकिने र मतगणना सुरु भएको एक घन्टाभित्रमा नजिता पनि आउने निर्वाचन समितिका अर्का सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले यसपटक विद्युतीय मतदानको विषयलाई लिएर विवाद नहुने पनि दाबी गर्नुभयो ।
यसअघि २०७० साल माघ १२ गते भएको संसदीय दलको नेताको निर्वाचनबाट विद्युतीय मतदान गरिँदा विवाद भएको थियो । १७ जनाले मतदान गर्दा १६ जना मात्रै देखिएको भन्दै केहीबेर मतदान अवरुद्ध भएको थियो । सो विवाद मिलेपछि फेरि विद्युतीय मतदान नै भएको थियो ।
संसदीय दलको निर्वाचनका लागि काँग्रेसले रमेश रिजालको संयोजकत्वमा सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । समितिको कार्यालय संसदीय दलको कार्यालय सिंहदरबारमा छ ।
काँग्रेसले संसदीय दलको नेताको निर्वाचन बुधबार हुने भए पनि कार्यसमितिको निर्वाचन भने यही चैत २६ गते गर्ने मिति तय भएको छ ।
संसदीय दल कार्यसमितिको निर्वाचनको कार्यक्रम २४ गते दिउँसोबाट सुरु हुने समिति सदस्य घिमिरेले बताउनुभयो । काँग्रेसको संसदीय दलको कार्यसमिति १५ जनाको हुने व्यवस्था गरिएको छ । अहिले काँग्रेसको संसद् सङ्ख्या २०७ छ ।