काठमाडौँ, ११ वैशाख । विसं २०७२ वैशाख १२ गते । बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भए पनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट खेखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आआफ्नै ध्याउन्नमा थिए ।
मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रिक्टर स्केलको भूकम्प गयो । यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २०० भन्दा बढी घाइते भए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाई गएको उक्त भूकम्प नेपालीका लागि कालो दिन बन्यो ।
त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । ‘गोरखा भूकम्प’ गएको आइतबार एक वर्ष पुग्दैछ । वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ रिक्टर स्केल र त्यसभन्दा माथिका ४४९ परकम्प गएका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा विसं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्प हेर्दा करिब ६० हजार भूकम्प गएका छन् ।
नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७.९ रिक्टर स्केलका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७.८ र चिलीमा ७.९ रिक्टरको भूकम्प गएको थियो । भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७.९ रिक्टरका १५ र ७ देखि ७.९ र ६ देखि ६.९ रिक्टरसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।
भूकम्प मापन केन्द्र आफैँ घाइते
नेपालमा भूकम्पको लामो इतिहास छ । यतिका धेरै भूकम्प गइसके तर भूकम्प मापन गर्ने निकाय खानी तथा भूगर्भ विभागको एक मात्र राष्ट्रिय भूकम्प मापन केन्द्र जनशक्तिको अभावले आफैँ घाइते अवस्थामा छ ।
पर्याप्त प्राविधिकको अभावले वर्षभरिका भूकम्पको गणना प्रक्रियामा लैजान सकिएको छैन । केन्द्रका प्रमुख अधिकारीका अनुसार वैशाख १२ को भूकम्पताका १३ प्राविधिक थिए अहिले छ जनामा सीमित छ । वैशाख १२ पछि २४ सै घन्टा चलाउनुपर्ने केन्द्रमा भूकम्पसम्बन्धी काम गर्ने प्राविधिकको अभावले चुनौती थपिएको छ । “नेपालमा यति धेरै भूकम्प गइसकेका छन् तिनको प्रशोधन गर्न प्राविधिक छैनन् । हाल केन्द्रमा भएका छ, जनामध्ये पनि नेपालभरका भूकम्प मापनसम्बन्धी केन्द्रको मर्मत गर्न जानुपर्ने बाध्यता छ,”–अधिकारीले भन्नुभयो ।
देशभर हाल भूकम्पबारे जानकारी सङ्कलन गर्ने २१ साइस्मिक स्टेसन छन् । केन्द्रलाई अत्याधुनिक र सुविधायुक्त बनाउन नसक्दा भूगर्भीय अनुसन्धानका काम प्रभावित भएका छन् । भूगर्भविद् डा सोमनाथ सापकोटाले भूगर्भीय अध्ययनका लागि अमेरिका, फ्रान्स र सिङ्गापुर लगायत देशको सहयोगमा दरारको अवस्थाबारे थाहा पाउने काम सुरु गरिएको बताउनुभयो । नेपालमा फ्रान्स सरकारको सहयोगमा सन् १९६८ देखि भूकम्प मापन गर्न सुरु गरिएको थियो ।
भूकम्पको इतिहास
विसं १९९० को महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ हो । विसं २०४५ मा उदयपुर केन्द्रबिन्दु बनाएर ६.७ रिक्टर स्केलको भूकम्प गएको थियो जसबाट ७२१ जनाको मृत्यु भएको थियो ।
सङ्खुवासभा केन्द्रबिन्दु बनाएर १९९० सालमा गएको ८.३ रिक्टर स्केलको महाभूकम्पबाट नेपालमा आठ हजार ५१९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै सङ्ख्यामा भारतको बिहारमा क्षति भएको थियो ।
संसारमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा सन् १९६० मा ९.५ रिक्टर स्केलको गएको थियो । हालसम्म संसारमा ९ रिक्टरभन्दा ठूला पाँच भूकम्प गएका छन् । तीमध्ये चार वटा भूकम्प प्रशान्त महासागर आसपासमा गएका छन् ।
भूकम्प कसरी
भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ । त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ । त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ । सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमासम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ ।
ऐतिहासिक रुपमा हेर्दा नेपालमा विसं १३१२ मा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ । विगतका भूकम्पको तथ्याङ्क हेर्दा मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूला भूकम्प गएको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । त्यस्तै पश्चिमाञ्चल क्षेत्रमा विसं १५०५ मा ठूलो भूकम्प गएको थियो । भूकम्प कहिले कुन अवधिमा कसरी जान्छ भनेर हालसम्म कुनै वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् ।
यसैबीच भूकम्प मापन केन्द्रले काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम अध्ययन गर्न जापानी सहयोग नियोगको सहयोगमा तीनवर्षीय परियोजना सुरु गरी तथ्याङ्क लिने काम सकिएको जनाएको छ । यसबाट काठमाडौँमा अब आउने ठूला भूकम्प कहाँ कति क्षति पुग्छ र कहाँ कस्तो खाले कम्पन गराउँछ, भन्ने थाहा पाउन सकिनेछ ।