लन्डन । दक्षिण पूर्वी लन्डनको ग्रीनवीच बोरोमा नेपाली जनसंख्या वृद्धि हुने क्रम जारी छ । रोयल बरो अफ ग्रीनवीचको पछिल्लो जनगणनामा बरोमा अंग्रेजीपछि नेपाली भाषा बढि बोलिने पाइएको छ ।
केही वर्ष अघिको गणनामा उक्त बरोमा लन्डनभरमा सबैभन्दा बढि नेपाली बोल्ने मानिस छन् जसको संख्या ५ हजार ५८ छ । यो बरोको ३ वर्ष उमेर माथिका कुल जनसंख्याको २ दशमलव १ प्रतिशत र लन्डनका कुल नेपालीभाषीको २६ दशमलव १ प्रतिशत हो । तर, नेपाली समाजका अगुवाहरुले नेपालीको संख्या अहिले करिब २५ हजार पुगेको आंकलन गरेका छन् । भूपू गोर्खाहरुको आवासीय अधिकारसंगै तिनका परिवार समेत बेलायत आएपछि जनसंख्या बढेको हो ।
सन् १९९९ मा बेलायत उत्रिए देखि नै ग्रीनवीच बरो छाडेनन् कुमार श्रेष्ठले । श्रेष्ठ रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हुन् । स्थानीय जनता र काउन्सिलले नेपालीलाई बढि नै माया र विश्वास गर्ने बताउंछन् उनी । ‘काउन्सिल हामीबाट प्रभावित भएर के सहयोग गरौं भनिरहेको छ’, श्रेष्ठले सुनाए, ‘हामीले हरेक सरकारी निकाय र अस्पतालमा नेपाली भाषा लेखिनुपर्छ भनेका छौं । उनीहरु प्रक्रियामा लैजान सकारात्मक छन् ।’ काउन्सिलले नेपाली काउन्सिलर नै भइदिए हुन्थ्यो भन्ने चाहेको समेत श्रेष्ठले जनाए ।
सन् २००६ देखि २०१५ अगष्टसम्म प्लमस्टिड म्यानर स्कुलमा हेरिटेज ल्याङवेज पढाउंथे उनी । एकपटक स्कुलमा आयोजित कन्फेरेन्समा ६० देशका शिक्षकले आ आफ्नो समाजको विधान ल्याए तर श्रेष्ठले सकेनन् किनकि त्यतिबेला नेपालीको साझा समाज नै थिएन । त्यो अभाव खट्किएपछि ग्रीनवीच बरोमा कुनै जातजाती वा वर्ग भन्दा पनि समस्त नेपाल र नेपाली समाजको प्रतिनिधित्व गर्ने संस्था गठन गर्ने सोचले जन्म भएको हो रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी । ‘हाम्रो पहिलो चिनारी त नेपाली भनेर हुनुपर्छ’, पासा पुच गुठी साउथ इष्टका संस्थापक अध्यक्ष श्रेष्ठ भन्छन्, ‘मेरो जात नेवार हो तर म पहिला नेपाली हुं ।’ सोसाइटीलाई स्थानीय काउन्सिलले पनि मान्यता दिएको श्रेष्ठ बताउंछन् ।
उक्त संस्थाले स्थानीय अरु नेपाली संघसंस्थासंग समन्वय गरेर नेपाली वालवालिकालाई नेपाली भाषा, संगीत एवं वृद्धवृद्धालाई अंग्रेजी भाषा सिकाउने काम गरिरहेको इकान्तिपुरमा समाचार छ ।
गत सेप्टेम्बरमा ठूलो सर्जरीपछि फिजिओथेरापी गरेर आराम गर्नुपर्ने उनी अस्वस्थताका बीच पनि रातदिन समुदायका लागि खटिरहेका छन् । नेपाल छंदा अर्थशास्त्र र हिसाबका अध्यापक श्रेष्ठ बेलायतमा चाहिं व्यवसाय र समाजसेवामा बढि तल्लिन भए ।