व्यवस्थापिका–संसदको दोस्रो अधिवेशनअन्तर्गत बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सहभागी सांसदहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमान्डू । नेपाली राजनीतिमा एकाएक नयां तरंग उत्पन्न भएको छ । बुधबार मिडियामा सत्ता परिवर्तनको विकल्पका समाचार आए । वर्तमान सरकार ढलाएर नयाँ सरकार बनाउने विषयमा संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चाबीच बैठक भएको छ । कांग्रेसले प्रस्ताव गरेको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादी पदाधिकारी बैठकले निर्णय गरेपछि नयाँ राजनीतिक सरगर्मी सुरु भएको इकान्तिपुरले जनाएको छ ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेसम्मको प्रयोजनका लागि हुने गरी नेपाली कांग्रेसले खाली कागजमा सांसदहरुको हस्ताक्षर संलकन गर्न थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले पहिलो हस्ताक्षर गरेका छन् ।
यसैबीच, उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विकल्प खोज्नुअघि एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः विचार गर्नुपर्ने बताउनुभएको छ ।
मिडिया नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष थापाले भन्नुभयो, ‘‘सरकार परिवर्तन गर्दा राष्ट्रियता कमजोर हुने, राजनीतिक अस्थिरता बढ्दै जाने तथा संविधान कार्यान्वयन कठिन र जटिल हुँदै जाने भएकाले यसमा पुनः विचार गर्न आग्रह गर्दछु ।’’
अध्यक्ष थापाले वैशाख १२ गतेको भूकम्प, असोज ३ गतेको संविधान जारीपछि मधेस आन्दोलन, भारतद्वारा अघोषित नाकाबन्दीजस्ता विषम परिस्थितिमा पुनःनिर्माण गर्नुपर्ने दायित्वका बीच राष्ट्रियताको जगमा अडेको वर्तमान सरकारले आर्थिक विकास र पुनःनिर्माणको काम अघि बढाउने अवस्थामा प्रचण्डले आफ्नो दल सहभागी भएको सरकारले ठोस काम गर्न नसकेको र सरकारको विकल्प खोज्नुपर्ने वक्तव्य निकाल्नु अप्रत्याशित र अनपेक्षित रहेको बताउनुभयो ।
उहाँले एक प्रश्नको उत्तरमा वर्तमान सरकार गठन गर्नुअघि जुन बहिरी शक्तिको चलखेलले अवरोध पुरयाएको थियो, त्यही शक्तिले हाल पुनः चलखेल गरेको आरोप लगाउनुभयो ।
उता, राप्रपा नेपालले अन्तिम समयसम्म वर्तमान सरकारको प्रतिरक्षामा खडा रहने निर्णय गरेको छ । पार्टी प्रवक्ता राजाराम श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा ‘संविधान कार्यान्वयनको चरणमा रहेको र मुलुक राजनीतिक स्थिरता हुँदै आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको सन्दर्भमा सुरु भएको सत्ता परिवर्तनको खेल उपयुक्त हैन’ भनिएको छ ।