लन्डन, २५ वैशाख । लन्डनको नयाँ नगरप्रमुख (मेयर) मा पहिलो मुस्लिम उम्मेदवार सादिक खान विजयी हुनुभएको छ ।
बेलायतको राजधानी लन्डनमा उहाँ पहिलो पटक मुस्लिम समुदायको नागरिकको रुपमा यो पदमा विजयी हुनुभएको बताइएको छ ।
शनिबार बिहान सार्वजनिक भएको स्थानीय निर्वाचनको परिणाममा यो जानकारी दिइएको छ ।
उहाँ बेलायतको लेबर पार्टीका राजनीतिज्ञ हुनुहुन्थ्यो । सोही पार्टीका तर्फबाट उहाँले उक्त पदका लागि उम्मेदवारी दिनुभएको थियो ।
उहाँलाई हालैका समयमा युरोपेली क्षेत्रमा भड्किएको मुस्लिम विरोधी भावनासँग जोडेर प्रचार गरिएको थियो ।
सादिकको गृहनगरमा मनाइयो खुसियाली
लन्डनको नयाँ नगरप्रमुख (मेयर) मा पहिलो मुस्लिम उम्मेदवार विजयी हुन सफल पाकिस्तानी मूलका नागरिक सादिक खानको विजयप्रति पाकिस्तानमा खुसियाली मनाइएको समाचार छ ।
बेलायतको राजधानी लन्डनमा उहाँ मुस्लिम समुदायको नागरिकका तर्फबाट पहिलो पटक निर्वाचित हुनुभएको हो ।
शनिबार पाकिस्तानी सहर इस्लामावादमा सादिकका पक्षमा नाराबाजी गरिएको छ । त्यस्तै सामाजिक सञ्जालमा पनि उहाँलाई बधाई ज्ञापन गरिएको छ ।
पाकिस्तानी नागरिक एक सवारी चालकका छोरा रहेका सादिकको परिवार नै सन् १९६० मा पाकिस्तानमा बसाईं सरेका थिए ।
उहाँको विजयपछि पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टोले आफ्नो ट्वीटर अकाउन्टमार्फत बधाई ज्ञापन गर्नुभएको छ ।
उहाँ बेलायतको लेबर पार्टीका तर्फबाट लन्डनको नगर प्रमुख पदमा विजयी हुनुभएको हो ।
पाकिस्तानबाट प्राप्त समाचारहरुका अनुसार राजधानी इस्लामावाददेखि विभिन्न सहरमा उहाँको विजयप्रति खुसियाली मनाइएको बताइएको छ ।