काठमाडौँ, ३० वैशाख । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत नेकपा (माओवादी) पार्टीसँग तत्काल पार्र्टी एकता गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।
पार्टी महासचिव रामबहादुर थापा ‘बादल’ को एउटा समूह पार्टी फुटाएर एकतामा गए पनि सिङ्गो पार्टी भने एकताको पक्षमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपाध्यक्ष गजुरेलले भन्नुभयो – पार्टी एकताका लागि विचार, रणनीति, राजनीति र कार्यविधि मिल्नुपर्छ, तर पार्टी एकताबारे अध्यक्ष मोहन वैद्यसँग अनौपचारिक बैठक भए पनि औपचारिक रूपमा वार्ता समिति समेत गठन भएको छैन ।
बुधबार एकीकृत नेकपा (माओवादी) बैठकले वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मातृका नेतृत्वको माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत माओवादी पार्टीसँग एकता प्रक्रिया अघि बढाउने औपचारिक निर्णय गरेको थियो ।
एमाओवादी नेतृत्वले आफ्नो पार्टी फुटाउन खोजेको आरोप पनि उहाँले लगाउनुभयो । पार्टीको नीति विपरीत पार्टी फुटाएर गए पनि महासचिव बादललाई कारबाही गर्नेबारे भने कुनै निर्णय नभएको उपाध्यक्षको भनाइ छ । जतिसक्दो चाँडो पार्टी एकताको पक्षमा रहेका महासचिव थापा समूहले जेठ २ गतेको बैठकमा अध्यक्ष वैद्यसँग अन्तिम पटक छलफल गर्ने भन्दै कुरिरहेको छ ।
तत्कालका लागि कार्यगत एकता भएपनि दीर्घकालीन रूपमा वामपन्थी दलबीच एकता हुन सक्ने उहाँको भनाइ छ । एक प्रश्नको जवाफमा उहाँले अब आफ्नो पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने बताउनुभयो ।