काठमाडौँ, १ जेठ । एकीकृत नेकपा (माओवादी)ले सबै विभाजित माओवादी घटकसँग एकता गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्ने निष्कर्ष निकालेको हो ।
एकताको विषयमा आवश्यक लचकता र जिम्मेवारीबोध गर्ने निष्कर्षसहित बैठकले क्रान्तिकारी कम्युनिस्टहरुबीचको एकतामा सहभागी हुन सबै पक्षलाई आग्रह गर्ने निष्कर्षसमेत निकालेको छ ।
एमाओवादी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायतका विभिन्न माओवादी घटकले सार्थक एकता गर्ने निर्णय गरिसकेका छन् । एकताका लागि विभिन्न चरणमा वार्ता र संवादसमेत भइसकेको छ ।
एमाओवादीको बैठकले आफूबाट अलग्गिएका माओवादीका नेतालाई सामूहिक तथा एकल जुनसुकै रुपमा आउने भए पनि एकता प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ ।
प्रवक्ता दीनानाथ शर्माका अनुसार बैठकले राजनीतिक तथा साङ्गठनिक विषय टुङ्ग्याएर केही दिनभित्रै एकता प्रक्रिया टुङ्गो लगाउने र त्यसको संयोजन गर्ने जिम्मासमेत अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
माओवादी घटकहरुको बीचको एकता प्रक्रियालाई अगाडि बढाउन विभिन्न १२ बुँदे अवधारणासमेत अगाडि सारेको छ । संविधानसभाबाट निर्माण भएको संविधानका सकारात्मक विषयहरुको अपनत्व ग्रहण गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नेलगायतका विषयमा सहमति भएको छ ।
एमाओवादीका सचिव वर्षमान पुनका अनुसार आजको बैठकले एकता प्रक्रियालाई सार्थक निष्कर्ष दिने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट नेता रामबहादुर थापाका नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले पनि एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।