भक्तपुर, ११ जेठ । “अब परिवार नै घर फर्कन लागेका छौँ, तर गाउँमा भूकम्पले भत्काएको घर बनाउन सकिएको छैन, वर्षा लागिसक्यो, अब गएर कहाँ बस्ने हो, कुनै ठेगान छैन, कसरी काट्ने होला यो वर्षा ?”
घर फर्किने दिन नजिकिँदै गर्दा भकुन्डेबेंसीबाट भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलस्थित इँटाभट्टामा काम गर्न आएकी सन्तमाया विकलाई अचेल यही चिन्ताले सताउने गरेको छ ।
गत वर्ष वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पले निकै क्षति पु¥याएको सिन्धुपाल्चोक, दोलखा, भकुन्डेबेंसी, काभ्रेपलाञ्चोक लगायत विभिन्न जिल्लाबाट भक्तपुरका झौखेल, दुवाकोट, ताथली, सुडाल, बागेश्वरी, सिपाडोल, र नंखेलका ६२ इँटाभट्टामा काम गर्ने करिब पाँच हजार भूकम्पपीडित मजदुर यही चिन्ताले पिरोलिँदै घर फर्कन हतारिएका छन् ।
भूकम्पले भत्काएको घरलाई छाडेर श्रीमान्सँग १२ वर्षकी छोरी लिएर झौखेलको इँटाभट्टामा काम गर्न आउनुभएकी काभ्रे सुन्थानकी अम्बिका विक गाउँमा ओत लाग्ने थलो नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ˗ “वर्षा लागिसक्यो, भूकम्पपछि बनाएको छाप्रो पनि हुरीले उडायो भन्ने सुनियो, अब गएर कहाँ बस्ने कुनै ठेगान छैन, पानी पर्नुअघि नै बाँसको छाप्रो हालेर बस्नुपर्ला भनेर घर जान लागेका छाँै ।”
च्यासिङ खर्क गाविस– २ काभ्रेका नवराज विकलाई पनि अबको वर्षा कसरी काट्ने भन्ने चिन्ता छ । भूकम्प गएपछि बनाइएको बाँसको टहराले वर्षा काट्न नसक्ने ठहर उहाँको छ । भट्टा छाडेर घर जाने तयारी गर्दै गर्नुभएका उहाँले भन्नुभयो˗ “सरकारले दिने भनेको दुई लाख छिट्टै आए ढङ्गामाटोको सानो घर बनाउँला भन्ने थियो, अझै आएन, फेरि गएर छाप्रो हाल्नुपर्छ, त्यसैले अब घर जान लागेको । ”
भट्टामा कमाएको पैसाले पाँच महिना खान पनि नपुग्ने बताउँदै श्रीमान् र तीन छोराछोरी लिएर भक्तपुरको इँटाभट्टामा आइपुगेकी काभ्रेकी निर्मला बिसङ्ुखेको चिन्ता पनि उस्तै नै छ ।
भूकम्पले घर मात्रै भत्काएन, बारी पनि चिरा परेकाले अब कहाँ बस्ने भन्ने चिन्ता छ सो परिवारलाई । उहाँ भन्नुहुन्छ˗“भूकम्पले घर लग्यो, भएको एउटा बारीको टुक्रो पनि हातै छिर्ने चिरा चिरा परेको छ, अन्त जग्गा छैन, चिरा नै परे पनि अब त्यही बारीमा छाप्रो हाल्ने योजना छ, वर्षामा पहिरोले छाप्रो नै लैजाला भन्ने चिन्ता भने रहिरहने भो ।”
काभ्रे पाङ्गुकी बुद्धिमाया तामाङ गाउँमा छाप्रो बनाउन भट्टाबाट फर्र्किएर जान हतारामै हुनहुन्छ । भूकम्पले घर भत्काएपछि धुलिखेलसम्म आएर सचिवलाई नाम लेखाए पनि सरकारले दिएको रु १५ हजार र न्यानो कपडा किन्न दिएको रु १० हजार अझै नपाएको गुनासो उहाँको छ ।
श्रीमान्सँगै चार छोराछोरी लिएर भट्टामा आएको उहाँको परिवार घर फर्कने बेलामा लगेको पैसाले टहरा बनाए खान नपुग्ने र खानलाई साँचे टहरा बनाउन नपुग्ने भएकाले के गर्ने भन्ने अन्योलमै छ । झौखेलकै भट्टामा काम गर्न आएका दाप्चाका चोकबहादुर लामाको अवस्था पनि उस्तै छ । श्रीमती र छोरा लिएर यहाँको भट्टामा इँटा बनाउने काम गर्न आउनुभएका लामालाई सरकारले दिएको रु १५ हजारबाट बनाएको जस्ताको छाप्रो गत महिनाको हुरीले उडाएपछि फेरि बासको व्यवस्था गर्नुपर्ने पिरलो परेको छ ।
उहाँ भन्नुहुन्छ˗ “गाउँ नगई यतै बसाँै भने पनि काम पाइँदैन, महँगी उस्तै छ । अहिले काम गरेर जोगाएको रु ३०÷४० हजारले अझै छ महिना परिवार पाल्नैपर्छ, गाउँमा गएर फेरि छाप्रो नहाले बस्ने ठाउँ छैन ।”
भूकम्पपीडित भूकम्पपछिको केही दिन खुला आकाशमुनि बस्न बाध्य भए भने केही दिनपछि पाएको एउटा त्रिपालमुनि धेरैले ओत लागेर महिनौ बिताए ।
सकसपूर्ण जिन्दगीलाई केही महिनापछि फराकिलो पार्न कतिले गाउँमै पाइने काठ, बाँसबाट छाप्रो बनाए भने केहीले टहरा बनाएर इँटाभट्टामा कामको खोजीमा आए । अब गएर वर्षा कसरी काट्ने भन्ने चिन्ता लिएर उनीहरु घर फर्कन हतारिएका छन् ।