बग्दाद, १३ जेठ । इराकको राजधानी सहर बग्दादमा इस्लामिक स्टेट समूहको बम हमलामा परी १३ जनाको ज्यान गएको समाचार प्राप्त भएको छ ।
बिहीबार अपराह्न आइएसका लडाकूले आत्मघाती बम विस्फोट गराएका थिए । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । हत्याको जिम्मेवारी आईएसले लिएको जनाइएको छ ।
राजधानी बग्दादको एक व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर ती लडाकूले हमला गरेका थिए । उक्त हमलामा परी १३ को ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ ।
इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ । यसै हप्तामात्र बग्दाद र नजिकको क्षेत्रमा भएको बम हमलाहरूमा करिब २०० जनाको ज्यान गइसकेको समाचारमा जनाइएको छ ।
इस्लामिक स्टेट आतङ्ककारी समूहका कारण इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ । केही समययतादेखि यहाँ हिंसा थप भड्किएको समाचारमा जनाइएको छ ।
इराकी गृहमन्त्रालयले दिएको जानकारीअनुसार नागरिक किनमेलका लागि जम्मा भएको समयमा यसरी विस्फोटक पदार्थसहित आत्मघाती बम हमलाको योजनाको आशङ्कामा केही व्यक्तिलाई पक्राउ पनि गराइएको छ ।
सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ ।