काठमाडौँ, १९ जेठ । आर्थिक वर्ष २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलमा आज भाग लिने सांसदहरुले बजेटका सबल र दुर्बल पक्ष केलाउने काम गरे ।
मङ्गलबारदेखि व्यवस्थापिका–संसद्मा भइरहेको सामान्य छलफलमा भाग लिने प्रतिपक्षी दलका सांसदले बजेट राष्ट्रिय दस्तावेजका रुपमा नभई पार्टी विशेषको घोषणपत्रका रुपमा आएको भनी आलोचना गरे ।
प्रतिपक्षका सांसदहरुको भनाइ थियो – “यो बजेट उत्पादनमुखी हो कि विकासमुखी हो छुट्याउन नसकिने अवस्था छ । कर्मचारीको तलब खुवाउनसमेत विदेशीसँग ऋण लिनुपर्ने देखिएको छ । बाहिर वितरणमुखी देखिए पनि भित्ररुपमा चुनावमुखी र ऋणमुखी देखिएको छ ।”
त्यस्तै, सत्तापक्षका सांसदले बजेटमा उत्पादन र रोजगारीका विविध कार्यक्रम आएको र बजेटले तराई मधेसलाई समृद्ध बनाउन विभिन्न कार्यक्रम अघि सारेको भन्दै बजेटको प्रशंसा गरे । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का सांसदले भने मध्यम र निम्न वर्गका जनताको मन छुने गरी बजेट ल्याइएकाले फेसबुकदेखि अन्तर्राष्ट्रिय समुदायबाट समेत व्यापक समर्थन जुटेको दाबी गरे ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसदले भने बजेटप्रति आलोचनात्मक समर्थन जनाए । विगतमा आफ्नो पार्टीको नेतृत्वमा भएको सशस्त्र आन्दोलनको जगमा बजेट बनेको हुँदा यो जनमुखी र यथार्थमा आधारित भएको उनीहरुको भनाइ थियो ।
नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले बजेटमा दुर्गम र आवश्यक क्षेत्रमा भन्दा पहुँचवाला नेताका जिल्लामा ठूला र धेरै योजना राखेको भनी आलोचना गर्नुभयो ।
नेकपा (एमाले)का सांसद गणेश पहाडीले स्वाधीन र समातामूलक समाजको तस्बिर अगाडि राखेर बजेट ल्याइएको भन्दै स्वागत र समर्थन गर्नुभयो । बजेटमा उत्पादन र रोजगारीका विविध कार्यक्रम आएको र बजेटले तराई मधेलाई समृद्ध बनाउन विभिन्न कार्यक्रम अघि सारेको उहाँको भनाइ थियो ।
काँग्रेस सांसद यज्ञबहादुर थापाले सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने पक्षमा आफ्नो पार्टी भए पनि मुलुकको अर्थतन्त्रले थेग्न सक्छ कि सक्दैन भन्नेतर्फ हेक्का गर्नुपर्ने बताउनुभयो । सांसद थापाले पुनःनिर्माणको अभियानलाई साझा अभियानका रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।
सांसद चन्द्रबहादुर गुरुङले बजेटमा राखिएका कार्यक्रमले युवा, वृद्ध र महिलालाई समेटेको उल्लेख गर्नुभयो । सांसद गुरुङले बजेट कार्यान्वयन गर्न प्रतिपक्ष पनि लाग्नुपर्ने धारणा राख्नुभयो ।
सांसद चन्द्रबहादुर कुँवरले जसको नेतृत्वमा मुलुकमा संविधानसभाबाट संविधान जारी भयो उसलाई बजेटले सम्झन नसकेको दुखेसो गर्नुभयो । उहाँले मुलुकमा आवश्यकताअनुसार संसद भवन नभएर व्यवस्थापिका–संसद् भाडामा बसेको अवस्थामा बजेटमा पाँच हजार मानिस अटाउने सभागृह बनाउँछु भन्नु हावादारी गफबाहेक केही नभएको जिकिर गर्नुभयो ।
सांसद श्रीमाया थकालीले भूकम्पछिको पुनःनिर्माण अघि बढाउन र नाकाबन्दीले थिलोथिलो भएको आर्थिक अवस्था उकास्न बजेट ठूलो आकारमा आएको भन्दै बजेट वितरण नगरी उत्पादन कसरी गर्न सकिन्छ भनी प्रश्न गर्नुभयो । सांसद थकालीले सामाजिक सुरक्षा भत्ता बढाउँदैमा महँगी नबढ्ने जिकिर पनि गर्नुभयो ।
सांसद चन्द्र महर्जनले अनावश्यक रुपमा बजेट बढाउँदा विश्वका धेरै देशको अर्थतन्त्र टाट पल्टेको दृष्टान्त प्रस्तुत गर्र्दै भूकम्पपछिको पुनःनिर्माणका लागि सरकार गम्भीर नदेखिएको बताउनुभयो ।
सांसद कृष्णभक्त पोखरेलले स्थानीय विकासका लागि ग्रामीण जनताका घरसम्म बजेट पुगेको बेला बजेट वितरणमुखी भयो भनी विरोध गर्नु ‘विरोधका लागि विरोध’ बाहेक केही होइन भन्नुभयो ।
सांसद अफिलाल ओखेडाले बजेट पुनःनिर्माण, विकासमुखी, कल्याणकारी र उत्पादनमुखी भएको भन्दै प्रशंसा गर्नुभयो । सांसद आखेडाले सुदूरपश्चिमको मानसरोवर पुग्ने नाकालाई बजेट विनियोजन गर्न र एकल महिला तथा दलितलाई दिने समाजिक सुरक्षा भत्ता अरु बढाउन सुझाव दिनुभयो ।
बैठकमा आजको बैठकमा सांसद अमनलाल मोदी, जनक चौधरी, बहादुरसिंह लामा, रामहरि खतिवडा, गौरीशङ्कर चौधरी, मोहन बानियाँ, वैजनाथ चौधरी, हरिप्रसाद नेपाल, राममाया बोगटी, दीर्घराज भाट, रामचन्द्र पोख्रेल, सुरेन्द्र जैसवाल, गणेश ठगुन्ना, गुरुप्रसाद बुर्लाकोटी, राजाराम स्याङ्तान, भीष्मराज उपाध्याय, कृष्णभक्त पौडेल, लालबहादुर रावल, कमला घिमिरे, भवानी प्रसाद ठाकुरलगायतका सांसदहरुले भाग लिनुभएको थियो ।
बजेटमाथिको आजको छलफलमा ५० भन्दा बढी सांसदले भाग लिनुभएको थियो । संसद्को अर्काे बैठक भोलि बिहान ११ बजे बस्ने कार्यक्रम छ ।
बजेटमाथिको छलफल र जवाफका लागि भोलिसम्मको समय तोकिएकामा त्यसलाई बढाएर यही जेठ २१ गते सम्मको समय थप गरिएको छ ।