काठमाडौँ, २५ जेठ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरी आजदेखि रिले अनशन थालेको छ ।
विभिन्न चरणमा तराई र काठमाडौँमा विरोधका कार्यक्रम गर्दै आएको गठबन्धन आज बिहानदेखि खुलामञ्चमा अनशनमा बसेको हो । विगतदेखि उठाउँदै आएका आफ्ना माग सरकारले सम्बोधन नगरेपछि थप दबाबस्वरुप अनशन बसेको गठबन्धनले जनाएको छ ।
गठबन्धनले गत महिनाको पहिलो हप्तादेखि राजधानीकेन्द्रित आन्दोलन थालेको थियो । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले गठबन्धनले राखेका माग सुनुवाइ नगरेपछि रिले अनशन बसेको बताए । रिले अनशनमा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव, अशोककुमार राई, रेणु यादव, शरत्सिंह भण्डारी लगायतको सहभागिता छ ।
जारी संविधानमा सङ्घीय प्रदेश सीमाङ्कन लगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनमा मोर्चासहित २९ दल आबद्ध छन् । प्रत्येक दिन एक दलबाट एक जनाका दरले अनशन बस्ने गठबन्धनले जनाएको छ ।