लन्डन, ९ असार । बेलायत युरोपेली युनियनको सदस्यका रुपमा बस्ने वा निस्किने भन्ने विषयमा बेलायतमा बिहीबार बिहान देखि जनमत सङ्ग्रह भइरहेको छ ।
बिहान ७ बजेदेखि नै यस विषयमा जनमत सङ्ग्रहका लागि मतदान सुरु भएको लन्डनबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहान ७ बजेदेखि विद्यालय, पुस्तकालय, चर्च र सामुदायिक केन्द्रहरुमा जनमत सङ्ग्रहका लागि मतदानका लागि मतपेटिका राखिएको छ । यस जनमत सङ्ग्रहमा दशौँ लाख बेलायतीले मतदान गर्नेछन् ।
मतदान सकिएपछि मतगणनाको कार्य जतिसक्दो चाँडै सुरु गरिने बताइएको छ । यसका लागि ३८२ वटा मत गणना केन्द्र स्थापना गरिने छ ।
त्यस्तै वेल्स र स्कटल्याण्ड तथा उत्तरी आयरल्याण्डमा पनि यस प्रयोजनका लागि अलग्गै स्थानमा यस्ता मतगणना केन्द्रहरु राखिने बताइएको छ । मतदान बिहीबार बिहान ७ बजेदेखि राति १० बजेसम्म राखिएको छ । त्यतिन्जेल बेलायतका सबै स्थानमा मतदान भइसक्ने अधिकारीहरुले जनाएका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार बेलायतका करिब ४ करोड ६० लाख नागरिक यस मतदानका लागि योग्य छन् ।
प्ररम्भिक निर्वाचन सर्वेक्षणहरुले बेलायत युरोपेली युनियनमा बस्नुपर्ने भन्ने विषयको मत बढी देखिएको छ । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन पनि बस्नुपर्ने पक्षमा छन् ।
उनले बेलायतले युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि त्यहाँ बस्दा बढी राम्रो हुने बताउंदै आएका छन् ।