लिभिभ, २२ असार । संयुक्त अधिराज्य बेलायतको हालै सम्पन्न जनमत संग्रहको नतिजाले युरोपभरि तरङ्ग सिर्जना गरेको छ । युरोपेली युनियनबाट निकै उत्साहित पश्चिमी युक्रेनको सानो सहर लिभिभमा अहिले ठूलै अनिश्चियको कालो बादल मडारिएको छ ।
बेलायत र युरोपका कतिपय गैरजिम्मेवार अवसरवादीहरुले आफ्नै मुलुकका संस्थाहरुको विनासमा भूमिका निर्वाह गरिरहेको अवस्थामा अनेकन चुनौतीहरुलाई पन्छाएर युक्रेनी सुधारवादीहरुले केही नयाँ निर्माणको पहल गरिरहेका छन्, र उनीहरुलाई अहिले त्यहाँ एकत्रित युरोपको आडभरोसा चाहिएको छ । आप्रवासनका खतराको हौवा फैलाएर युरोपेली युनियनबाट बेलायत बाहिरिनु पर्दछ भन्ने अभियान चलिरहेको सन्दर्भमा युक्रेनी अधिकारकर्मीहरु आन्तरिक रुपमा युक्रेनको कुलीन वर्ग र बाह्य रुपमा रुसी प्रभावको चेपुवामा पर्ने गम्भीर खतरा छ ।
लिभिभले ऐतिहासिक रुपमा युरोप विनासको विगतलाई सम्झाउँछ । कुँदिएका ढुङ्गा बिछ्याइएको सुरम्य लिभिभ सहर विगतका रक्तरञ्जित युद्धहरुको मौन साक्षी हो, र यसले साम्राज्यहरुको उदय र पतन देखेको छ । तैपनि, अहिले त्यही लिभिभ युरोपेली प्रतिज्ञा पूरा हुने दृढ विश्वासमा छ ।
लिभिभ सहरको विशेषता नै रुसी–विरोधी र युरोपेली–पक्षधरता हो, तर गृष्म ऋतुका हरेक वर्ष पाँच दिन अल्फा ज्याज फेस्टिबल यहीँ आयोजना हुने गर्दछ जुन एक रुसी बैंकले प्रायोजन गरेको हो । रुस र युक्रेनबीच युद्धकै परिस्थिति रहेको अवस्थामा नीति निर्माताहरु, स्थानीय नागरिकहरु, विदेशमा रहेबसेका युक्रेनीहरु, र कतिपय रुसीहरु लिभिभका सडकमा यो लोकप्रिय ज्याजमा रम्न सहभागी भइरहेका छन् ।
महत्वपूर्ण सांस्कृतिक धारा र भौगोलिक अवस्थिति हुनुका अलावा युक्रेन पश्चिमा मुलुकका लागि रणनीतिक रुपमा पनि महत्वपूर्ण देश हो । लोकतन्त्र र तानाशाही बीचको द्वन्द्वको चेपुवामा परेको एक महत्वपूर्ण स्थान हो युक्रेन । युरोपका लागि, कानुनी शासन, पारदर्शिता, स्वतन्त्र व्यापार र सुशासनलाई प्रबद्र्धन गर्ने अवसरका रुपमा युक्रेन रहेको छ, र यसको प्रभाव युक्रेनी सीमापारीसम्म फैलिने सम्भावना छ ।
युक्रेन ठूलो देश हो, र यहाँ मानवीय स्रोतसाधन, प्राकृतिक सम्पदा र वृद्धिको सम्भावना अथाह छ । महत्वपूर्ण कुरा के भने युक्रेनको सुधार योजनाको सफलताले रुसमा ज्यादै सकारात्मक प्रभाव सिर्जना गर्नेछ । अद्यापि, सन् २००६ यता युक्रेनको अर्थतन्त्र दुई तिहाईले खुम्चिएको छ, र यहीकारण युरोपको सर्वाधिक गरिब राष्ट्रमा दरिन पुगेको छ ।
सन् २०१४ मा युक्रेनका रुस–समर्थित राष्ट्रपति भिक्टर यानुकोभिच पदच्यूत भएपछि युक्रेनीहरुले युरोपबाट धेरै लाभ पाउने आशा गरेका थिए, जो भिसा बेगर नै निर्वाध युरोपमा घुमफिर गर्ने र रोजगारीको अवसर पाउने सोचमा थिए । बेलायतको जनमत संग्रहसँगै त्यो आशामा तुषारापात भएको छ । लिभिभको ज्याजमा रमाइरहेका युक्रेनीहरुले युरोपको पुनः एकपटक स्व–पतन भएको अनुभव गरिरहेका छन् ।
ब्रेक्सिटले तानाशाहीमा विश्वास गर्नेहरुलाई थप बल प्रदान गरेको छ । नरम शक्तिमा विश्वास गर्ने युरोपको क्षमता कमजोर भएको छ । अद्यापि, आशा मरिसकेको छैन । युक्रेनमा अर्थपूर्ण सुधारका कार्यहरु सफल हुने सम्भावना छ, विगत २० वर्षमा हुन नसकेका कार्यहरु गत दुई वर्षको अवधिमा हासिल भइसकेका छन् । नयाँ योजनामा लगानी गर्नेहरुका लागि युक्रेनी अर्थतन्त्र कम्तीमा स्थिर छ, पूर्वी भेगमा जारी लडाइँ मत्थर भइरहेको छ ।
युक्रेनका प्रधानमन्त्री भोलोडिमर ग्रोसम्यानले भ्रष्टाचार विरुद्ध लड्न थप सुधारका कार्यहरु गर्नेतर्फ प्रतिबद्धता जनाइसकेका छन्, र उनी इन्धनमा दिइआएको अनुदान कटौती गर्न र बढी पारदर्शी मौद्रिक नीति ल्याउन प्रतिबद्ध छन् ।
पूर्वमा, रुसी अर्थतन्त्र इन्धन मूल्यमा आएको गिरावट र पश्चिमा मुलुकको आर्थिक नाकाबन्दीबाट प्रताडित भइरहेको छ, र त्यसमा चाँडै सुधार हुने लक्षण पनि देखिन्न । यी बाह्य पक्षका अलावा रुसको अर्थतन्त्र बढ्दो मूल्य र उत्पादकत्व वृद्धिमा भइरहेको ह्रासबाट समस्याग्रस्त छ । तर रुसी नेतृत्वको भित्री तहले क्षेत्रीय वा विश्व सरोकारका विषयमा छलफल अगाडि बढाउने मनसाय व्यक्त गरिरहेको छ ।
पश्चिमी विश्वमा, युरोपेली युनियनले आफ्नो उपस्थितिलाई अझ बलियो र सशक्त बनाउने सम्भावना छ, र त्यसका लागि ब्रेक्सिट पछिका अनिश्चिततालाई जतिसक्दो चाँडो सम्बोधन गरिनु आवश्यक छ । त्यसो हुन सकेमा युक्रेन र दक्षिणपूर्वी युरोपमा लगानीका अवसर सिर्जना हुनेछन्, र उत्पादकत्व वृद्धिमा सार्थक परिणाम हासिल हुनेछ ।
युरोपेली युनियनले बेलायतको वापसीलाई पनि एउटा अवसरका रुपमा उपयोग गर्नु बढी व्यावहारिक हुन्छ, जुन बेलायतकै अवरोधका कारण युरोपेली युनियन त्यति प्रभावकारी संस्थाका रुपमा क्रियाशील थिएन । जनमत सर्वेक्षणहरुले देखाइरहेका छन् कि युरोपेली मुलुकका नागरिकहरुले वित्तीय क्षेत्रको नियन्त्रणका लागि युरोपेली संरचनाका साथै शरणार्थीको प्रवाहको व्यवस्थापन, जलवायु परिवर्तनका समस्याको समाधानका उपायहरुको कार्यान्वयन र यसका असरबाट सिर्जित समस्याको निराकरणमा लाग्नु जरुरी छ भन्ने बुझ्नु पर्दछ ।
लिभिभका नागरिकका लागि भने युरोपेली परियोजनाहरुले उनीहरुको आफ्नै समाजको पुनर्निर्माणमा एउटा मोडेल प्रस्तुत गर्ने मात्र नभइ ठूलो योजनाको सहयात्री हुने वातावरण दिनेछ । युरोपेली युनियनमै रहनु पर्दछ भन्ने बेलायती नागरिकहरुको विहङ्गम विचारदृष्टि र अभियान त्यतिकै खेर गएको छ । बेलायतकै युरोप पक्षीय नागरिकहरुले पनि युरोपभित्रै रहने विषयमा बेलायत सरकारको प्रयत्न कमजोर रहेको भन्दै असन्तोष प्रकट गरिरहेका छन् । बेलायतलाई अद्यापि विचारदृष्टिकै जरुरी छ, र कसरी युरोपलाई राम्रो, सशक्त र समृद्ध बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक मन्थन गर्नु पर्दछ ।
युक्रेनी सुधारवादीहरुले जसरी राष्ट्र निर्माणमा साहसका साथ कार्य गरिरहेका छन् त्यसैगरी उनीहरु युरोपेली युनियन, र खासगरी बेलायतको एकताबद्ध प्रयासको पक्षमा उभिएका छन् । जोकोहीले कुनै दिन लिभिभको दृष्टान्त दिनेछ – जहाँ हरेक नागरिकले प्रेरणा स्वरुप सडकमा बिछ्याइएका हरेक ढुङ्गाबाट स्वामित्वको अनुभूति गर्न पाउनेछन् ।
एरिक बरग्लोफ लन्डन स्कुल अफ इकनोमिक्सको विश्व मामिला इन्स्टिच्यूटका निर्देशक हुन् ।