काठमाडौँ, २९ असार । नेकपा (माओवादी केन्द्र)ले सरकारका विरुद्धमा व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
आज नयाँबानेश्वरस्थित संसद् भवनमा दर्ता गराएको सो अविश्वासको प्रस्तावको प्रस्तावकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थनमा नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा रहनुभएको छ ।
सो अविश्वासको प्रस्तावमा नेका र केन्द्रका २५५ जना सांसदले हस्ताक्षर गर्नुभएको छ ।
अध्यक्ष दाहालसहित नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराईसमक्ष सो प्रस्ताव दर्ता गराउनुभएको हो ।
नेका प्रमुख सचेतक श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकार नैतिक सङ्कटमा परेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिन माग गर्नुभयो ।
केन्द्रका प्रमुख सचेतक पाण्डेले प्रम ओलीले पदबाट राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न माग गर्नुभयो । रासस
व्यवस्थापिका संसद् सचिवालयमा सरकारको विरोधमा दर्ता आज भएको अविश्वासको प्रस्ताव परिपक्व हुन संसद् नियमावलीअनुसार एक साता लाग्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरुको विश्वास नरहेको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) ले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सो जानकारी दिनुभएको हो ।
उहाँले नियम १६० को प्रयोग गर्ने सन्दर्भमा सभामुखले आफ्नो तजबिजीमा सो प्रस्तावलाई एक साताभित्र छलफलको प्रक्रिया अघि बढाउन सक्नुहुने बताउनुभयो । सो नियम सभामुखले निलम्बन गरेमा एकसाता नपुग्दै पनि प्रस्तावमा संसद्मा छलफल अघि बढ्न सक्नेछ । अविश्वास प्रस्ताव पारित भएमा नयाँ गठनको प्रक्रिया अघि बढ्नेछ ।
आज बिहान ११ बजेका लागि तोकिएको र ३ बजेसम्मको संसद्को आजको बैठक केहीबेरमा सुरु हुँदैछ । आजको कार्यसूचीमा अविश्वासको प्रस्तावको कार्यसूची छैन ।
प्रम ओलीको समर्थनमा राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुहुने कदमको समर्थन गर्ने निर्णय गरेको छ ।
यहाँ आज बसेको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रम ओलीसमक्ष पदबाट राजीनामा दिने, विश्वासको प्रस्तावको सामना गर्ने अथवा विश्वासको मत लिने तीन विकल्प रहेको भन्दै पार्टीले तीन विकल्पमध्ये जुनसुकै विकल्प प्रम ओलीले लिए पनि पार्टीले साथ दिने निर्णय गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।